कोहलपुर, बाँकेको कोहलपुरमा १३ औँ अन्तर्राष्ट्रिय गिद्व संरक्षण सचेतना दिवस मनाइएको छ । दिवसको अवसरमा गिद्व संरक्षण सम्बन्धि सरोकारवाला निकाय बीच अन्तरक्रिया कार्यक्र गरी दिवस मनाइएको हो । अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायले विश्व मै लोपउन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा जोड दिएका छन् ।
प्रकृतिको सूचिकार समेत रहेको गिद्धको संरक्षण गर्न आवश्यक रहेको भन्दै उनीहरुले त्यसको संरक्षणको लागि एकजुट हुनुपर्ने बताएका छन् । अहिले नेपालमा गिद्ध लोपउन्मुख अवस्थामा रहेको छ । अन्तरक्रियामा सहभागीहरुले गिद्धको संरक्षणमा सरकार र सरोकारवाला निकायवीच समन्वय हुन जरुरी रहेको बताएका थिए । जसरी पनि गिद्धको संरक्षणमा जोड दिन आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
अन्तरक्रियामा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका सहायक वन संरक्षण अधिकृत महेश न्यौपानेले निकुञ्ज क्षेत्रमा गिद्धको बासस्थान पहिचान र संरक्षणको कार्य भइरहेको जानकारी दिए । उनका अनुसार बाँके जिल्लामा केही प्रजातिका गिद्ध देखिएका छन् । उक्त अवसरमा नेपालमा गिद्धको विगत, वर्तमान र भविष्यका विषयमा सहजीकरण गर्दै नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालले नेपालमा ९ प्रजातिका गिद्ध पाइने बताए ।
उनका अनुसार अहिले नेपालमा अनुमानित २० हजार गिद्ध रहेका छन् । तर गिद्ध वर्षेनि लोप हुँदै गइरहेको उनले बताए । नेपाल सरकार र विभिन्न संघ संस्थाले नेपालमा गिद्ध संरक्षणका लागि काम गरिरहेको उनको भनाइ छ । ‘नेपाल सहित विश्वमै गिद्ध लोपउन्मुख अवस्थामा छ । अहिले गिद्ध र त्यसको बासस्थान संरक्षणको प्रयास भइरहेको छ । बाँके जिल्लामा पनि गिद्ध र त्यसको महत्वको विषयमा जनचेतनामुलक कार्यक्रम गरिरहेका छौँ ।’ नेपालीले भने ।
उक्त अवसरमा बोल्दै नेपाल दलित सेवा संघका केन्द्रीय अध्यक्ष इश्वरी प्रसाद विश्वकर्माले गिद्धको संरक्षण गर्नु प्रकृतिलाई सुन्दर बनाउनु भएको बताए । बाँके जिल्लामा पनि पहिला जताततै पाइने गिद्ध भएपनि अहिले नपाइने उनको भनाइ थियो । बाँकी रहेका गिद्धको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको उनको भनाइ छ ।
यस्तै रेडियो प्रतिबोध एफ.एम.का अध्यक्ष बुद्ध सुनारले अन्तरक्रियामा महत्वपूर्ण विषय उठान भएको भन्द्र आगामी दिनमा बाँके जिल्लामा समुदायस्तरमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
उक्त अवसरमा कोहलपुर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र बुढा, पशु शाखा प्रमुख गोविन्द्र रोकाया, कोहलपुर सव डिभिजन वन कार्यालयका रेन्जर मानबहादुर थापा र नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा लगायतले गिद्ध संरक्षण मै जोड दिएका थिए । अन्तरक्रिया कार्यक्रम सामुदायिक रेडियो प्रतिबोध एफ.एम.को आयोजनामा सम्पन्न भएको हो ।









प्रतिक्रिया दिनुहोस्