शुभाकर विश्वकर्मा, कोहलपुर
बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा चोरी,डकैती,हत्या हिंसा बढ्दै गएकोले सिसीटिभी क्यामरा जडानको प्रक्रिया शुरु भएको छ ।लागूऔषध दुव्र्यसन तथा ओसारपोसार, मानव बेचविखन लगायतका अपराधजन्य क्रियाकलाप गर्ने ट्रान्जिट बनिरहेको कोहलपुरमा शान्तिसुरक्षा कायम गर्नको लागि क्यामरा जडानको प्रक्रिया शुरु गरिएको हो ।
कोहलपुर क्षेत्रलाई अपराध मुक्त गर्न लक्ष्य सहित यहाँका सरोकारवाला निकाय सक्रिय भएका हुन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समेत ट्रान्जिट प्वाइन्टको रुपमा रहेको कोहलपुरमा शान्ति सुरक्षा कायम गर्ने, चोरी नियन्त्रण र सुविधा प्रदान गर्नको लागि सिसीटिभी क्यामरा जडानको लागि पहल जारी छ । अपराधका दृष्टिले जोखिमयुक्त क्षेत्रको रुपमा रहेको कोहलपुरमा अहिलेपनि जम्मा ६ वटा मात्रै सिसीटिभी क्यामरा जडान गरिएको छ ।
पछिल्लो समय दैनिक जसो हत्या तथा चोरी लगायतका घटना हुन थालेपछि सरोकारवाला सम्मिलिन समिति बनाइएको थियो ।कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बनेको सिसीटिभी जडान तथा व्यवस्थापन समितिले संभावित जोखिम क्षेत्र पहिचान गरेको छ । समितिमा कोहलपुर नगरपालिका, सुनचाँदी व्यवसायी संघ,कोहलपुर नेपाल पत्रकार महासंघ बाँके, बैंकर्स क्लब, यातायात व्यवसायी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधि सदस्य छन् ।
संघका अध्यक्ष तथा समितिका संयोजक लक्ष्मणराज पौडेलले समितिले अहिलेसम्म स्थलगत निरिक्षण,संभावित जोखिमयुक्त क्षेत्र पहिचान लगायतका काम सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिका क्षेत्र र जानकी गाँउपालिकाको प्रिहवासम्म स्थलगत निरीक्षण गरिएको हो । सिसीटिभी क्यामरा जडानको लागि संभावित १७ स्थानको छनौट गरिएको उनले जानकारी दिए ।
कोहलपुर नगरपालिकाको मनकामनाचोक,चप्परगौडी क्षेत्रको रोहिणी खोलापारी पट्टिको बजार, खड्गवार चोक,मदनचोक र एनसिसियनमा क्यामरा जडान गरिने उनले बताए ।
न्यूरोड,साझाचौक,कृषिबजारदेखि दक्षिणपट्टि बसपार्क, हाईस्कुल, पिपिरिचौक,हवलदारपुर, शिव मन्दिर र पिप्रहवा लगायतको सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त ठाँउहरुको पहिचान गरिएको अध्यक्ष पौडेलले बताए ।
‘पहिलो चरणमा मुख्य सडक क्षेत्र पहिचान भएको छ । दोस्रो चरणमा भित्री क्षेत्रमा समेत जडान गरिनेछ ।यो कोहलपुरलाई सुरक्षित बनाउने अभियान समेत हो ।’ उनले भने । साथै कोहलपुरका भित्री बाटोहरुमा पनि सुरक्षाको दृष्टिकोणले जोखिम युक्त ठाँउहरुको पहिचान गरिएको उनको भनाइ थियो । पहिलो चरणमा स्थलगत निरीक्षण र स्थान पहिचान सम्पन्न भएपछि अब बाँकी काम शुरु हुने चरणमा रहेको उनले जानकारी दिए ।पौडेलले अब सिसीटिभी क्यामरा खरीद् र प्राविधिक कर्मचारीको व्यवस्थापनमा समिति लागेको बताए ।
खर्च व्यवस्थापन व्यक्तिगत तथा संस्थागत रुपमा हुने उनले अवगत गराएका छन् । यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरले सिसीटिभी क्यामरा मार्फत कोहलपुर क्षेत्रको निगरानी गरिएको छ । कोहलपुर प्रहरी प्रमुख डियसपी रविन्द्र खनालले पनि कोहलपुर क्षेत्रलाई शान्त र अपराध मुक्त बनाउनको लागि सिसीटिभी जडान गर्ने अभियान शुरु गरिएको बताए । उनका अनुसार अहिले सोही अनुसार समितिले काम समेत गरिरहेको छ ।समितिका संयोेजक पौडेल सिसीटिभी क्यामराले अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गरेका
छन् ।









प्रतिक्रिया दिनुहोस्