मेसुलाई कालोमोसो दलेको प्रकरण, मुख्य आरोपितसहित चार जना पक्राउ



कोहलपुर ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोद सिंहलाई कालोमोसो दलेको आरोपमा चार जना पक्राउ परेका छन् । उनीहरुमध्ये दुई जनालाई दुई दिन अगाडि घोराहीको रतनपुरबाट जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको थियो । नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको भनिएका अनेरास्वबियु दाङका संयोजक सर्जन परियार भने मंगलवार प्रहरीसमक्ष आफै उपस्थित भएका थिए । परियार मुख्य आरोपित रहेका छन् ।

मंगलवार मध्यान्ह १२ बजेतिर सामाजिक सञ्जालमा ‘स्ट्याटस’ लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले आफू स्वयम् प्रहरीकोमा गएको उल्लेख गरेका थिए । उनले न्यायको पक्षमा, अन्याय र झुटा मुद्दाको बिरुद्धमा हिरासतभित्रै भोक हडताल गर्ने घोषणा पनि गरेका
छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार मेसु सिंहलाई कार्यकक्षमै मोसो दल्ने डिल्ली डाँगी र अनेरास्वबियुका जिल्ला सह–संयोजक दिवश क्षेत्रीसहित दुई जना दुई दिन अगाडि नै पक्राउ परेको जानकारी दिए । ‘कालोमोसो दलिदिने मुख्य व्यक्ति डाँगी हुन् र डाँगीलाई नै हामीले पक्राउ गरिसकेपछि अरु पनि प्रहरी सम्पर्कमा नआई सुख नै छैन’ उनले भने । तर, पीडित मेसु सिंहले घटना भएको केही बेरपछि परियारले नै आफूलाई कालोमोसो दलेको बताएका थिए । एसपी काफ्लेले घटनामा संलग्नमध्ये तीन जना मात्रै पक्राउ परेको र अरु फरार रहेको बताए पनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने हालसम्म चार जना पक्राउ परेको स्पष्ट पारेका छन् ।

‘दुई जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो र आज मंगलवार थप दुई जना प्रहरीसमक्ष आफै आएका हुन्’ प्रजिअ कुरुम्बाङले भने ‘अब घटनामा संलग्न अरु दुई जना फरार छन् ।’ कालोमोसो दल्ने घटनामा संलग्न सबैबिरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धी अध्यादेश २०७८ अनुसार मुद्दा दायर गरिएको उनले जानकारी दिए ।
काममा फर्किए स्वास्थ्यकर्मी
घटनाका योजनाकार मानिएका मुख्य व्यक्ति आफै प्रहरीमा पुगेपछि शनिवारदेखि काम रोकेर सडक संघर्ष गर्दै आएका जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अब काममा फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले आन्दोलन रोकेर काममा फर्किने निर्णय भएको जानकारी दिए । ‘अब आन्दोलनका कार्यक्रम रोकेर काममा फर्किने निर्णय गरेका छौं,’ वलीले भने, ‘केही मंगलवारबाटै काम फर्किसक्नुभएको छ । बुधवारबाट सबैजना आफ्नो काममा फर्किनुहुनेछ ।’ मेसु सिंहलाई कार्यकक्षमै कालोमोसो दलिएपछि जिल्लाका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु काम रोकेर आन्दोलनमा उत्रिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १६ गते बुधबार