कोहलपुर ।
कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले यो आर्थिक वर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्री गरेको छ । पहिला व्यापारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्री गर्न नसक्दा किसानहरु घाटा ब्यहोर्न बाध्य थिए । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकाको अधिकांश क्षेत्रमा वन जंगल छ ।
घर छेउ वरिपरि जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका २ का किसानहरु बाख्रा पालनतर्फ आकर्षित भएका छन् । बाख्रा पालन गर्नका लागि गाउँमै रहेको जननी समाजिक उद्यमी महिला सहकारी संस्थाले बिक्री वितरण तथा बाख्राहरुलाई चाहिने दाना उपलब्ध गराउँदै आइरहेको छ । सहकारीका सबै सदस्यहरुले बाख्रा पालन गरेर आम्दानी गरिरहेका छन् । पहिला किसानहरुले सहकारीलाई र सहकारीले व्यापारीहरुलाई बिक्री गर्दा बिचौलियाले नाफा खाइदिने र बिक्री हुन धेरै समय लाग्दा किसानहरुले घाटा व्यहोर्न परेको थियो ।
तर नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले गएको वर्षदेखि केयर कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएपछि किसानहरुलाई मात्र नभएर सहकारीहरुलाई पनि सहज भएको छ । कम समयमा बिक्री हुने र बिचौलियाहरु पस्न नपाउने भएपछि संस्थाले एपको माध्यमबाट १ करोड बराबरको बाख्रा बिक्री गरेको सहकारीका अध्यक्ष गणेश खत्रीले जानकारी दिए । सहकारी संस्था राप्ती सोनारी २ बाँके गाउँका मानिसहरुले बाख्रा पालनबाट राम्रो आम्दानी गर्न थालेपछि विगत लामो समयदेखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन सुरु गरेकी छन् । दिल कुमारीसँग अहिले एउटा बोयर बोका र स्थानीय जातका ३० बढी बाख्रा पाठापाठी छन् ।
गाउँको सहकारीले बाख्रा पालनमा सहयोग गर्ने भएपछि अहिले उनी आधुनिक तरिकाको बाख्रा र खोर निर्माणमा लगानी गरेको बताइन् । राप्ती सोनारीका धेरै सहकारी संस्थाहरुले कृषकहरुसँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरुले उत्पादन गरेका खाद्यान्न तथा बाख्रा, कुखुुरा लगायतका उपजहरु खरिद बिक्री तथा वितरण गरिरहेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव गिरीराज भूषालले किसानहरुले उत्पादित चिज बस्तु सजिलै बिक्री वितरण गर्न मोबाइल एपले मद्दत गरिरहेको जानकारी दिए ।
‘खसीबोका बिक्री वितरण गर्नको लागि मोबाइल एप प्रभावकारी देखिएको छ’ उनले भने, ‘स्थानीय सरकारले पनि यसको प्रयोगलाई प्रभावकारी बनाउने सके किसानहरुलाई सहज हुन्थ्यो ।’
फोटो क्यासनः कृषि पथ मोबाइल एपबारे जानकारी गराउँन किसानको घरदैलो पुगेको घरेलु महासंघ बाँकेको टोली ।









प्रतिक्रिया दिनुहोस्