साविक मध्य तथा सुदुरपश्चिमका जिल्लाहरुको प्रमुख व्यापारीक केन्द्र थियो, बाँकेको नेपालगञ्ज शहर । नेपालगञ्ज शहरलाई नेपालकै पूरानो शहरका रुपमा समेत लिइन्छ । यही शहरलाई प्रविधीमार्फत सुरक्षित बनाउने भनेर तत्कालिन जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकप्रसाद तामाङको अगुवाईमा छलफल चलाइयो । छलफलको उद्देश्य थियो, नेपालगञ्जलाई सीसीटिभी क्यामेराको निगरानीमा राख्ने । क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरा जडान गर्नको लागि आर्थिक संकलन गर्नको लागि एउटा समिति समेत बनाइयो । विभिन्न चरणका छलफलपछि सीसीटिभी क्यामेरा जडानको लागि यहाँका निजी क्षेत्रहरुले समेत ठूलो आर्थिक सहयोग गरे ।
सबैको साथ र सहयोगले राँझा चोकदेखि जमुनाहा नाकासम्म सीसीटिभी जडान गरिएको थियो । २०७५ साउनको तेस्रो साता भव्य समारोहको आयोजना गरेर नगरमा चन्दा उठाएर जडान गरिएका सीसीटिभीको उद्घाटन भयो । जे उद्देश्य र लक्ष्य लिएर नगरमा सीसीटिभी जडान गरिएको थियो, त्यो भने पूरा हुन सकेन । नेपालगञ्ज नगरका मुख्य १६ ठाउँमा ५६ वटा सीसी क्यामेराहरु जडान गरिएकोमा विस्तारै ती क्यामेरा बिग्रिएर काम नगर्ने भए । नगरमा हुने घटनाहरुको अनुसन्धानमा सहज होस् भनेर जडान गरिएका क्यामेराहरु बिग्रिएपछि सहज होइन प्रहरीलाई झनै अठ्यारो भयो । बेला बेलामा बिग्रिएका केही क्यामेराहरु मर्मत गरिएपनि धेरै क्यामेरा अहिले पनि सञ्चालनमा छैनन् । त्यसको उदाहरण हो, त्रिभुवन चोकमा भएको सवारी दुर्घटना ।
सीसीटिभी क्यामेराका सामुन्ने नै मोटरसाइकलले बालिकालाई ठक्कर दिएर भाग्दासम्म समेत अहिलेसम्म पहिचान हुन सकेको छैन । सामुन्ने सीसीटिभी क्यामेरा भएपनि बिग्रिएका कारण त्यसमा ठक्कर दिने मोटरसाइकल रेकर्ड हुन सकेन । नगरबासीका सुरक्षाका लागि लगाइएका सीसीटिभीहरु अहिले आएर हात्तिले देखाउँने दाँतजस्तै हुन पुगेका छन् । बिग्रिएका क्यामेराहरु मर्मतको लागि अहिले सरोकारवाला निकायहरुबीच नै जुहारी चलिरहेको छ । नेपालगञ्ज उप–महानगरपालिकाले त सीसीटिभी क्यामेरासँग आफ्नो कुनै सरोकार नै नभएको बताइसकेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आफुसँग क्यामेराहरु मर्मतको लागि बजेट नभएको बताएर पन्छिन खोजेको छ । अब नगरमा बिग्रिएका सीसीटिभी क्यामेराहरु तत्काल सरोकारवाला निकायहरुले मर्मत गरेर सञ्चालनमा ल्याउन जरुरी छ । त्यसो हुन सके अपराध अनुसन्धानमा प्रहरीलाई सहज समेत पक्कै हुनेछ ।









प्रतिक्रिया दिनुहोस्