सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको संक्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाकोे दोस्रो लहर सुरु भएयता बालबालिका पनि संक्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको कोरोना संक्रमण दोस्रो लहरमा बढेको हो । कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो संख्या पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ ।![]()
प्रदेशमा अहिलेसम्म कूल ३० हजार ८ सय ६९ जनामा संक्रमण देखिएकोमा ८० प्रतिशत संक्रमित भने २० वर्षमाथिका छन् । निर्देशनालयका निर्देशक डा.रवीन खड्काले बालबालिकामा पनि संक्रमणदर बढ्दो रहेको बताए । ‘बालबालिकामा संक्रमण दर बढ्दो क्रममा देखिन्छ’ खड्का भन्छन्, ‘बालबालिकाले कोभिडविरुद्धको खोप पनि पाएका छैनन् त्यो भएर पनि उनीहरुमा जोखिम बढी हुने आँकलन गरिएको छ ।’
उनका अनुसार पाँच वर्षमुनिका बालबालिकामा भने जोखिम कम रहेको छ । निर्देशक खड्काका अनुसार गतवर्ष पहिलो लहरमा कर्णालीमा चार प्रतिशत बालबालिका मात्र कोरोना संक्रमित भएका थिए । त्यो संख्या बढेर अहिले १९ प्रतिशत अर्थात् पाँच हजार ५ सय ५६ पुगेको छ । पहिलो र दोस्रो लहरमा सबैजसो उमेर समूहलाई प्रभावित पारेको कोभिडको तेस्रो लहरसमेत आउन सक्ने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको आँकलन छ । उक्त लहरले बालबालिकामा बढी असर गर्ने बताइएको छ ।
बालबालिकामा बढी संक्रमण हुने देखिएकाले सोहीअनुसारको पूर्व तयारी गर्नुपर्ने निर्देशक खड्काको भनाइ छ । यसैबीच कर्णालीमा पनि तेस्रो लहरको संक्रमणबाट जोगिन पूर्वतयारी थालिएको छ । निर्देशक डा. खड्काले बालबालिकामा जोखिम हुने अनुमान गरेर जिल्लास्थित सबै अस्पतालले २० प्रतिशत बेड छुट्याएको जानकारी दिए । बालबालिकाका लागि उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण र जनशक्तिको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।
त्यसैगरी सघन उपचार कक्ष र भेन्टिलेटर व्यवस्थापन गरिएको छ भने अक्सिजन सिलिण्डरहरु थप गर्ने काम भइरहेको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए । यस्तै, निर्देशनालयले उपचारका लागि प्रदेशका तीन वटा अवस्थामा भाइरस संक्रमणको वर्गीकरण गर्ने व्यवस्था मिलाएको छ । उपचारलाई सहज बनाउन संक्रमितको स्वास्थ्य अवस्थाअनुसार भाइरसको वर्गीकरण गरिएको हो । सोही आधारमा निर्देशनालयले मापदण्डसमेत बनाएको छ । सामान्य, मध्यम र जटिल अवस्था वर्गीकरण गरी त्यसकै आधारमा समुदाय, जिल्ला तह र प्रदेश अस्पतालमा उपचारको प्रबन्ध गरिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्