तटबन्धले जोगायो बस्ती



शिवु खनाल । दाङ ।

गढवा गाउँपालिका वडा नम्बर १ कालाकाँटे निवासी सितादेवी थापा गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्थिन् । घरभित्रै रङसिङ्खोलाको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले निदाउन सकिनन् । अहिलेको बर्खा सकिनैलाग्दा त्यो टोलबासीले थापाको जस्तो समस्या झेल्नुपरेको छैन ।

सबैभन्दा बढी जोखिम मानिने बस्ती जोगाउन तटबन्ध निर्माणपछि यहाँका बस्तीका स्थानीयबासीको राती जाग्राम बस्नुपर्दैन । झण्डै एक किलोमिटर क्षेत्रसम्म तटबन्ध निर्माणपछि बस्ती मात्र नभई पूरै गढवा गाउँपालिका वडा नम्बर १ का विभिन्न बस्तीहरु सुरक्षित भएका हुन् । पश्चिम राप्ती रङ्सिङ नदी प्रणाली र पश्चिम राप्ती गुरूङ् खोलाका विभिन्न क्षेत्रमा तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम कम भएको
छ । ग्याबिन जालीसहितको तटबन्ध निर्माणपछि यो वर्ष बस्तीमा कटानको जोखिम घटेको गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए ।

राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम अन्तरर्गतबाट चार करोड, जनताको तटबन्धबाट दुइ करोड र भु–संरक्षण कार्यालय तुलसीपुरबाट ४० लाख गरि ६ करोड ४० लाख बजेटबाट मानवीय बस्ती, टोल संरक्षण र उर्वरता जमिनको भुक्षय रोक्नको ग्याबिन जालीसहितको तटबन्ध निर्माण गरिएको उनले बताए । ‘तटबन्ध निर्माणपछि रङसिङ् खोला घरभित्र छिर्न पाएन’ स्थानीय थापाले भनिन्, ‘विगतमा रङसिङ् खोला बर्खायाममा घरभित्र पस्थ्यो । यो वर्षदेखि ढुक्क भएर निदाउन पाइएको छ ।’ हिउँदमा रङसिङ् खोलाको सतह घटे पनि बर्खायाममा उर्लेर आउँछ ।

वडाध्यक्ष अधिकारीका अनुसार राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम अन्तरगत चार करोड बजेटबाट पश्चिम राप्ती रङ्सिङ नदी प्रणाली र पश्चिम राप्ती गुरूङ् खोला अन्तरगत पर्ने खहरे खोलाहरू रङ्सिङ्, ददरी, ड्राईनाला, कुन्ता, भालु, गिद्रहवा, गुलरनिया, विभिन्न नदि, खोलमाहरूमा तटबन्ध गरिएको छ । यस्तै जनताको तटबन्धबाट विनियोजित दुइ करोड बजेटबाट बौराह खबरे खोला र चमारीखोला, गुलरनिया खोला र भु–संरक्षण कार्यालय तुलसीपुरको ४० लाख बजेटबाट खहरे भालु खोलामा ग्याबिन जालीसहितको तटबन्ध निर्माण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ १४ गते सोमबार