शुभाकर विश्वकर्मा, कोहलपुर,
शुक्रबार दिउँसो ११ः३० तिर बागेश्वरी बहुमुखी क्याम्पसको खोप केन्द्रबाट जीवन विष्ट बाहिर निस्किए । उनले मुखमा मास्क लगाएका थिए । दायाँ दातले बायाँ हातको पाखुरामा समाएका थिए, उनले । दायाँमा हात थियो, प्रवेशपत्र, र खोप लगाएको कार्ड । अलि वर आएपछि खोप लगाएको पाखुरामा लगाएको रुई फाले ।‘हिजो देखि एक्साइटेड थिए । विहान सबेरै पुगे । लाइनमा लागियो ।’ उनले भने,‘ पालो आउँदा निकै डर लागेको थियो । तर खोप लगाएको थाहै पाइनँ । अलिकति चिसिक्क ग¥यो ।’
उनले खोप पाउँदा खुसी लागेको पनि बताए ।विष्ट बागेश्वरी बहुमुखी क्याम्पस मै कक्षा १२ मा अध्ययनरत छन् । विष्ट सरकारले खोप दिएर लाखौँ विद्यार्थीलाई राहत भएको बताउँछन् । उनका अनुसार सरकारले अब परिक्षा मिति चाडै तोक्नुपर्छ । विष्टले अष्ट्राजेनेकाको पहिलो डोज लगाएका हुन् । खोप लगाएपछि परिक्षाको लागि आफू अब मानसिक रुपमा तयार भएको उनको भनाइ छ ।
बागेश्वरी मै अध्ययनरत कामना विष्ट पनि खोप आफूहरुको लागि निकै महत्वपूर्ण भएको बताउँछिन् । सरकारले कक्षा १२ का विद्यार्थीहरुलाई मात्रै लक्षित गरेर खोप दिनु सरकारले राम्रो काम गरेको बताइन् । उनको पनि सरकारले छिटो भन्दा छिटो परिक्षा तोक्नुपर्ने माग थियो । उनले भनिन्, ‘सरकारले खोप दियो । खुसी लागेको छ । हाम्रो पढाइ नभएको धेरै भइसक्यो अब छिट्टै परिक्षा तोकियोस् ।’
त्रिभूवन माविमा अध्ययनरत अस्मिता शाही पनि खोप पाउँदा आफूलाई खुसी लागेको बताइन् । उनका अनुसार अब परिक्षाको तयारी गर्न खोपले सघाउँछ । खोप लगाएपछि कोरोना संक्रमणको जोखिम कम हुने भएकोले आफू परिक्षाको बेग्र प्रतिक्षामा रहेको उनको शाहीको भनाइ थियो । उनको पनि माग सरकारले छिटो परिक्षा तोकिदेयोस भन्ने रहेछ ।
यस्तै त्रिभूवन माविमा व्यवस्थापन संकायमा अध्ययनरत सागर सुनार पनि खोपको पहिलो मात्रा लगाएपछि आफूलाई सहज महशुस भएको बताउँछन् । उनका अनुसार लामो समयदेखि कोरोना संक्रमणका कारण पढाइ न परिक्षा केही पनि हुन सकेको थिएन । अहिले सरकारले नै खोप उपलब्ध गराएपछि छिटो परिक्षा शुरु हुनेमा आफू विस्वस्त रहेको उनको भनाइ थियो ।
उनीहरु मात्रै होइन खोप लगाएका धेरै जसो विद्यार्थीको भनाइ एउटै छ, खोप लगाएकोमा सरकारलाई धन्यवाद, छिटो परिक्षा होस् । देशभर झैँ बाँकेमा शुक्रबार र शनिबार दुईदिन कोरोना विरुद्धको खोप लगाइएको छ । जिल्लाका आठ मध्ये सात पालिकाका ६ हजार बढी विद्यार्थीलाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालय बाँकेको रहेको छ ।
कार्यालयका अनुसार नेपालगञ्ज उपमहनगरपालिकामा ३ हजार ३ सय २० जना,कोहलपुर नगरपालिकामा १ हजार ८ सय ३२ जना र बैजनाथ गाउँपालिकामा २२० जनालाई खोप लगाउने लक्ष्य रहेको छ । यस्तै स्वास्थ्य कार्यालय बाँकेले खजुरा गाउँपालिकामा २५०, डुडुवा गाउँपालिकामा ५०, नरैनापुर गाउँपालिकामा २६ जना र राप्तीसोनारी गाउँपालिकामा ४६० जना विद्यार्थीलाई खोप लगाउने लक्ष्य छ ।
तर उच्च मावि नभएका कारण जानकी गाउँपालिकामा भने खोप लगाइएको छैन । बाँकेमा कक्षा १२ का १८ वर्ष माथिका बिद्यार्थीलाई आठवटै पालिकामा कोरोना भाइरस विरुद्धको अस्ट्राजेनेका खोप दिन लागिएको हो । खोप आज पनि सात वटै पालिकाका खोप केन्द्रमा पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्