कोहलपुर ।
अविरल वर्षाका कारण आएको बाढीका कारण बाँकेका विभिन्न गाउँहरु डुबान तथा कटानमा परेका छन् । नेपालगञ्ज क्षेत्रमा घरहरु डुबानमा परेका छन् भने राप्तीसोनारी र डुडुवामा डुबानका साथै कटान समेत भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले स्थानीय खोलाहरुमा आएको बाढीले कटान र डुबानको समस्या ल्याएको बताए ।
उनका अनुसार बिहीवार रातीदेखि परिरहेको अविरल वर्षाका कारण नेपालगञ्ज, डुडुवा, राप्तीसोनारी लगायतका पालिकाका केही स्थानहरु डुबानमा परेका छन् । स्थानीय खोलामा आएको बाढीले राप्तीसोनारी र डुडुवा गाउँपालिकाका केही गाउँहरु डुबानका पर्नुका साथै कटान समेत गरिरहेको छ । त्यहाँ कटानका कारण एक दर्जन कच्ची घरहरु भत्किएको एसपी अधिकारीले जानकारी दिए । राप्ती नदीमा ठूलो बाढी नआएपनि स्थानीय खोलाको बाढी गाउँमा पसेपछि कच्ची घरहरु भत्किएका हुन् ।
डुडुवा नालाबाट आएको बाढी गाउँमा पस्दा सुन्दर लोनिया, गणेश खटिक, लक्ष्मण चमार, आलामजहा, कन्टु कहार, नफिस खाँ, राप्तीसोनारीमा गोलु थारु, कोटी लुहारी, आशाराम थारु, सुमन दमाई, पार्वती ओलीको कच्ची घर गोठ भत्किएको बाँके प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार डुडुवा खोलाको तीब्र कटान गरेपछि वडा नम्बर १ कधैंपुरुवाका आधा दर्जन घरहरु जोखिममा परेका छन् । डुडुवामा आएको बाढीले कटान तीब्ररुपमा भइरहेपछि केही घरपरिवार विस्थापित भएका छन् ।
स्थानीय खोलामा अविरल वर्षाका कारण आएको बाढी राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४, ५ र ७ का केही घरहरुमा पसेको थियो । वडा नम्बर, ५ को चिलरिया गाउँको बीच हुँदै बग्ने चाचरफर्का नालाले दुबैतर्फ कटान गरेको छ । चिलरिया नालाले एकापट्टि १० मिटर र अर्कोपट्टि १५ मिटरभन्दा बढी बाँध कटान गरिसकेको ईलाका प्रहरी कार्यालय धामपुर बैजापुरले जनाएको छ । वडा नम्बर ५ का विभिन्न गाउँमा मात्रै दुई दर्जन बढी घरहरुमा पानी पसेको वडाध्यक्ष झगरु थारुले जानकारी दिए ।
यसैगरी राप्तीसोनारीको वडा नम्बर ४ को देउपुरामा पनि राप्ती र जंगलबाट आएका खहरे खोलाको पानीले बस्ती र खेतमा डुबान सृजना भएको थियो । त्यहाँ करिब आधा दर्जन घरमा पानी पसेको वडाध्यक्ष कान्छा थारुले बताए । राप्तीसोनारीकै वडा नम्बर ७ नन्कउपुरमा पनि करिब १५ घरमा पानी पसेको थियो । विगतमा राप्ती नदीमा आउने बाढीले डुबान र कटानको समस्या झेल्ने राप्तीसोनारी र डुडुवाका यी गाउँबस्तीमा यसपटक खहरे खोलामा आएको बाढीले समस्या पारेको हो ।
यस्तै नाला सफाई र पानीको निकासमा समयमै ध्यान नदिंदा फेरी नेपालगञ्जका धेरै स्थान डुबानमा परेका छन् । नगरमा ढल निकासका लागि निर्माण गरिएका अधिकांश ठूला साना नालाहरु फोहोरले थुनिंदा पानीको निकास बन्द भएको र केही स्थानमा नाला निर्माण नगरिएकोले ठाउँहरु जलमग्न भएका हुन् । निरन्तरको वर्षाले गर्दा नेपालगञ्जको वडा नम्बर ४, ५, ६ र ७ का अधिकांश स्थान जलमग्न भै डुबानमा परेको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।
पानी जमेका कारण नगरका स्थानीयका दर्जनौ घर र पसलमा समेत पानी पसेको वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिए । बन्द भएका नालाहरु खुलाउनको लागि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका थिए । नाला सफा नहुँदा पानीको निकास बन्द भएर ती क्षेत्र सधैं बर्षामा डुबानमा पर्दै आएको वडा नम्बर ७ का दिनेश मानन्धरले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अधिकारीले वर्षाका कारण भएको क्षती विवरण जिल्लाभरी नै आउने क्रम नै जारी रहेको मिसन टुडेलाई जानकारी दिए । ‘वर्षा पश्चात आएको बाढीले केही स्थानमा डुबान र कटान गरेको खबर आइरहेका छन्’ उनले भने, ‘सबै स्थानहरुमा उद्दार तथा कटान रोक्नको लागि प्रहरी परिचालन भइसकेको अवस्था छ ।
क्षतीको सबै जानकारी अझै आइसकेको छैन ।’ अविरल वर्षापछि आएको बाढी र पहिरोमा कारण पुर्व पश्चिम राजमार्ग, कोहलपुर सुर्खेत सडक, दाङ रोल्पा लगायतका सडक खण्डहरु अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । सबै स्थानहरुमा पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले भारी वर्षा हुने विभागको भनाई रहेको छ । विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्