‘तेस्रो लहरको तयारी तीव्र’



प्रज्ञा अर्याल, कोहलपुर

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कर्णबहादुर थापाले कोरोना संक्रमणको बढ्दो कहरको रोकथामको लागि प्रयास जारी भएको बताएका छन् । कोहलपुरको केन्द्रको रुपमा रहेको वडा नम्बर ११ मा संभावित तेस्रो लहरको पूर्वतयारी तीव्र भइरहेको उनले बताएका हुन् । पछिल्लो समय कोहलपुरमा दैनिक दर्जनौँ नयाँ कोरोना संक्रमित थपिएरहेका छन् । ती मध्ये पनि वडा नम्बर ११ का पनि रहेका छन् ।

कोहलपुर नगरपालिका कोरोना संक्रमणको हटस्पट बन्ने खतरा बढिरहेको भन्दै वडा नम्बर ११ मा रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी तीव्र पारिएको उनको भनाइ छ । सोही अन्तर्गत अहिले कोहलपुर स्वास्थ्य चौकी र वडा नम्बर ११ को अगुवाईमा वडाका टोलटोलमा जनचेतनामुलक कार्यक्रम भइरहेको अध्यक्ष थापाले जानकारी दिए ।‘तेस्रो लहरको सामना कसरी गर्न सकिन्छ भनेर हामीले बृहत छलफल गरेका छौँ ।काम समेत अघि बढाइसकिएको छ । टोलटोलमा स्वयमसेवक खटाउनेदेखि जनचेतनामुलक कार्यक्रम गर्ने सम्मका गतिविधि निरन्तर भइरहेका छन् ।’ वडा नम्बर ११ का अध्यक्ष थापाले भने ।

लामो समयको लकडाउनमा व्यापारीहरूले घर भाडा,बैंक रिन तिर्न न सकेको र लकडाउनले उनीहरूको जीविकामा धेरै असर गरेको हुनाले लकडाउन अहिले समस्याको समाधान नभएको उनको तर्क छ । तर उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका अन्य उपाय भने अपनाउन सकिने बताए । कोहलपुर वडा नम्बर ११ का स्थानीय सरकारले स्थानीय नागरिकहरुको लागि माक्स सेनिटाइजर जस्तो स्वास्थ्य सामग्रीहरु वडाले उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

स्थानीयलाई कुनैपनि स्वास्थ्य समस्या भएमा वडा नम्बर ११ को कार्यालयमा सम्पर्क गर्न वडा अध्यक्ष कर्णबहादुर थापाले अनुरोध गरेका छन् । यता, कोहलपुर स्वास्थ्य चौकीका प्रमुख प्रकाशजंग हमालले कोरोना संक्रमणको जोखिम भएपनि रोकथामका उपाय भइरहेको बताएका
छन् । पछिल्लो समय कोहलपुर नगरपालिकामा दैनिक कोरोना संक्रमित थपिरहेका छन् । जिल्लाका अन्य पालिकामा भन्दा कोहलपुर नगरपालिका धेरै संक्रमितका कारण उच्च जोखिममा परेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ११ गते शुक्रबार