कोहलपुर ।
१३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारका लागि १३ हजार ५६ वटा रूख काटिने भएको छ । आयोजना क्षेत्रभित्र पर्ने रूख काट्नका लागि सरकारसँग अनुमति मागेको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए । ‘स्थलगत अध्ययनले १३ हजार बढी रूख काट्नुपर्ने देखिएको छ’ उनले भने, ‘त्यसका लागि नेपाल सरकारसँग अनुमति समेत माग गरेका छौं ।’
सुर्खेतको वीरेनद्रनगर, भेरीगंगा र लेकवेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका १३ हजार बढी रुख काट्न अनुमति माग गरिएको हो । आयोजना विस्तार गर्दा सुर्खेतमा ६ हजार ८२०, बर्दियामा तीन हजार ३२० बाँकेमा दुई हजार ९१६ वटा रूख काट्नुपर्ने देखिएको आयोजना प्रमुख चौधरीले बताए । आयोजनाले रूख काट्ने अनुमतिका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले तयार पारेको प्रतिवेदन सरकारसँग पेश गरेको छ ।
‘ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा अनुमतिका लागि फाइल पेश भइसकेको छ,’ आयोजना प्रमुख चौधरीले भने, ‘आयोजना ऊर्जा मन्त्रालयसँग सम्बन्धित हो । तर, रूख कटान अनुमतिका लागि वन मन्त्रालयमा पनि फाइल पेस गरिएको छ ।’ रूख कटानको अनुमति मन्त्रिपरिषद बैठकले दिनुपर्छ । आयोजना विस्तार गर्दा विद्युत्का ठुला पोलहरु राख्नुपर्ने र ती पोलले ठूलो क्षेत्र ओगट्ने भएकाले पनि धेरै रूखहरू काट्नु पर्ने भएको उनी बताउँछन् । ‘आयोजना विस्तारका लागि जम्मा १६० पोल निर्माण गर्नुपर्ने हुन्छ, तीमध्ये १३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० वटा पोल व्यक्तिको जग्गामा निर्माण गरिनेछ,’ उनले भने, ‘जसमा केही एंगल टावरसमेत रहने छन् ।’
प्रसारण लाइन निर्माण सुरु
कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन निर्माणको काम सुरु भइसकेको छ । लामो समयको प्रतिक्षापछि कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइनको काम सुरु भएको हो । नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सवको अवसर पारेर भदौं १ गते अर्थात् मंगलवार विधिगत रुपमा निर्माण सुरु गरिएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
गत असार २२ गते १३२ केभीए कोहलपुर–सुर्खेत विद्युत् लाइन विस्तारको जिम्मा भारतीय निर्माण कम्पनी ‘आरएस इन्फ्राप्रोजेक्ट प्रालि’ले पाएको थियो । ७० करोड रुपैयाँमा ठेक्का लिएको कम्पनीले काम समेत सुरु गरिसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्