कृष्ण ओली । कोहलपुर ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्कीको हत्या आरोपमा एक युवकलाई सार्वजनिक गरेको छ । हत्या भएको ३७ दिनपछि कोहलपुर प्रहरीले हत्या आरोपीलाई सोमवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
८२ वर्षीया साउनीको गत साउन २ गते राती कोहलपुर नगरपालिका, ११ एकतानगरमा रहेको आफ्नै घरमा नै सुतिरहेको अवस्थामै हत्या भएको थियो । २ गते साँझ घरमा कोठामा सुतेकी साउनी ३ गते बिहान हत्या गरिएको अवस्थामा फेला परेपछि पारिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । करिब तीन साता लामो अनुसन्धान पश्चात कोहलपुर प्रहरीले आरोपीतलाई नियन्त्रणमा लिएको थियो ।
हत्या आरोपमा पक्राउ पर्नेमा कोहलपुर नगरपालिका, १२ चप्परगौडीका ३४ वर्षीय चाईनिज भनिने सन्तोष कुमार थापा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
‘हामिले घटनालाई गम्भीरतापूर्वक लिएर सुरुदेखि नै सुक्ष्मरुपमा अनुसन्धान थालेका थियौं’ उनले पत्रकार सम्मेलनमा भने, ‘सबै कोणबाट गरिएको अनुसन्धानले पक्राउ परेका आरोपीतको संग्लनता देखियो । सोही कारण हामिले आज सार्वजनिक गरेका हौं ।’
पक्राउ परेका थापाले साउनीको घरबाहिर रहेको धाराको ह्याण्डिल निकालेर टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी खनालले जानकारी दिए ।
हत्या पश्चात उनको साथमा रहेका केही गरगहना र केही नगद समेत लिएर गएको अनुसन्धान क्रममा पक्राउ परेका थापाले बताएको प्रहरीले जनाएको छ । हत्या आरोपीत थापा यसअघि पनि चोरी, कुटपिट लगायतका घटनाहरुमा संग्लन रहेको खुलेको डिएसपी खनालले बताए ।
‘यसअघि समेत विभिन्न अपराधिक घटनामा संग्लन रहेको खुल्न आएको छ’ उनले भने, ‘उनी अहिले मदिराका साथै लागु औषध प्रयोग गर्ने गरेको देखियो । घटना गराउन समेत मदिरा र लागु औषध खाएर गएको अनुसन्धानबाट देखिन्छ ।’
प्रहरीले हत्यामा प्रयोग गरिएको धाराको हत्था (ह्याण्डिल), हत्था खोल्न प्रयोग भएको रेन्ची, हत्या गर्दाका बखत प्रयोग भएको कपडा समेत प्रहरीले प्रमाणको रुपमा बरामद गरेको छ । हत्या पश्चात लुटिएको सुनको गहना जन्तर भारतको रुपैडियाका राकेश बर्मालाई ७ हजार ५ सयमा बिक्रि गरेको थापाले स्वीकार गरेको डिएसपी खनालले जानकारी दिए ।
पूरानो घटनाको त्यो ‘क्लू’
घटनास्थलको क्राइम सिन हेर्ने वित्तिकै साउन ३ गते बिहानै प्रहरी अधिकारीहरु हत्या नै भइसकेको ढुक्क भइसकेका छन् । हत्या भएको रात तथा बिहानको मौसमको कारण घटनास्थलमा प्रहरीले कुनै प्रमाण फेला पार्न सकिरहेको थिएन् ।
ठूलो पानी परिरहेकोले समेत तालिमप्राप्त कुकुरले समेत खास्सै सुराक दिन सकेन । हत्या नै भएको ढुक्क भएपछि प्रहरीले तत्कालै अनुसन्धान सुरु गर्दै पानी परिरहेकै अवस्थामा समेत ठूलो संख्यामा प्रहरी परिचालन ग¥यो ।
प्रहरीले केहीबेरमा नजिकैको मकैबारीबाट धाराको हत्था फेला पा¥यो । तत्कालै प्रहरीले सो क्षेत्रका शंकास्पद आधा दर्जन मानिसहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो । शंकास्पद व्यक्तिलाई कार्यालय ल्याउने सोधपुछ गर्ने, निगरानीमा राख्ने क्रममा दुई सातासम्म जारी रह्यो ।
यो क्रममा प्रहरी कोहलपुर क्षेत्रमा भएका पूराना घटनाहरु समेत केलाइरहेको हुन्छ । त्यसक्रममा अनुसन्धान टिमले यस्तै प्रकृतिको घटना गत जेठ १० गते कोहलपुरको भरैयामा भएको पत्ता लगाउँछ । सो घटनामा समेत रातको समयमा सुतिरहेकी महिलालाई आफ्नै घरमा रहेको धाराको हत्थाले टाउकोमा हानेर घाइते बनाएको पाईन्छ ।
अनुसन्धान गर्दै जाँदा थापाको यो घटनामा संग्लनता पुष्टि हुन्छ । कोहलपुरका डिएसपी खनालले भरैया घटनालाई जोडेर सुक्ष्म अनुसन्धान गर्दा साउनीको हत्या गर्नेसम्म प्रहरी पुगेको बताउँछन् ।
‘यसअघि समेत हामिले अन्य केही व्यक्तिलाई समेत अनुसन्धानको साँघुरो घेरामा पारिसकेका थियौं’ उनले भने, ‘केही प्रमाणहरुमा उनीहरुको संग्लनता पुष्टि हुन सकिरहेको थिएन ।
पछि नयाँ सूचनाको आधारमा अनुसन्धान थाल्दा साउनीको हत्या थापाले गरेको थियो । आफैले पनि प्रहरी समक्ष हत्याको साबिती बयान दिए ।’ धाराको हत्था खोल्नको लागि १४ र १५ नम्बरको रेन्ची समेत घरबाटै लिएर आएको पक्राउ परेका थापाले बताएको प्रहरीले जनाएको छ ।
प्रहरीले गम्भीरतापूर्वक लिएको यो घटनाको अनुसन्धानको लागि कोहलपुर प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँके र लुम्बिनी प्रदेश कार्यालय दाङले सहयोग गरेका थिए । यहाँको टोलिलाई सहयोग गर्नको लागि प्रहरी प्रधान कार्यालयले एक डिएसपीको कमाण्डमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को एक टोलि कोहलपुर पठाएको थियो ।
हत्याको अनुसन्धानमा खटिएका प्रहरीका छुट्टा छुट्टै टोलिले एक सय भन्दा बढी व्यक्तिसँग सोधपुछ, एक हजार बढी मोबाइल नम्बरहरुको विश्लेषण, विभिन्न स्थान तथा घरहरुमा लगाइएका सीसिटिभीका फुटेज मगाएर हेर्ने लगाएका काम गरेका थिए ।
‘यो घटनाको अनुसन्धानमा प्रहरीले आफ्नो ठूलो स्रोत साधन तथा अहिलेसम्मका अनुभव समेत प्रयोग गरेको छ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘ठूलो मेहनत गर्दा शून्य अवस्थाबाट हत्यारासम्म पुग्न सफल भइयो ।
अहिले आएर बल्ल आफुले गरेको कामको खुशी लागेको छ ।’ केही दिनमा नै पक्राउ परेका आरोपीत थापालाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्