नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा शनिवार कैलाली र बाँकेका एक–एकजनाको भेरीमा उपचारकै क्रममा मृत्यु भएको हो । कैलालीको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुष र बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ की २४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ ।
कैलालीका ६९ वर्षीय पुरुषलाई भदौ ४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरिएको थियो । उनलाई सोही दिन भेरीमा भर्ना गरिएको थियो । उनको शुक्रवार राति साढे ८ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । यस्तै कोहलपुरकी २४ वर्षीया महिलाको साउन २० गते कोहलपुरमै पीसीआर गरिएको थियो ।
साउन २३ गते उनलाई भेरीमा भर्ना गरिएको थियो । उनको शुक्रवार राति ९ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । कोरोनाबाट अहिलेसम्म बाँके निवासी ३ सय २६ र अन्य जिल्लाबाट उपचार गराउन बाँकेमा आएका ३ सय ९१ जनाको मृत्यु भएको उनले बताए । एक सातायता भेरी अस्पतालमा उपचारकै क्रममा कोरोना संक्रमितको दैनिक मृत्यु भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्