बढ्यो बाँकेमा दैनिक ज्याला



नेपालगञ्ज ।

चालू आर्थिक वर्ष २०७८/०७९ को लागि जिल्ला दररेट निर्धारण समिति बाँकेले दैनिक ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक सामान्य बढाएको हो । जिल्लाका श्रमिकहरुले अबदेखि कममा पनि ५९० रुपैयाँ दैनिक पारिश्रमिक पाउँने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उनका अनुसार क्लिनर, चेन मेन÷सर्भे हेल्पर, खानीमा काम गर्ने भरिया, ज्यामी कुल्ली, चौकीदार लगायतको ज्याला पाँच सय २५ बाट पाँच सय ९० रूपैयाँ पु¥याइएको छ । सिकर्मी, डकर्मी, चित्रकार बज्रकर्मी, दक्ष कामदार (निकुञ्जभित्र), ढुंगेकर्मी डकर्मी, रोलर ग्रेडर अपरेटरको सात सय ५० बाट बढाएर आठ सय ४० रूपैयाँ ज्याला समितिले निर्धारण गरेको थियो । त्यस्तै, अर्धदक्ष जनशक्तिको प्रतिदिन सात सय ८४ रूपैयाँ कायम गरिएको छ । योसँगै स्थानीय तथा आधारभूत निर्माण सामग्री, सामान ढुवानी÷मेसिन उपकरण भाडा, फलामजन्य लगायत निर्माण सामाग्रीको पनि दररेट निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए ।

‘सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ (१) बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले ज्याला र निर्माण सामाग्री दररेट वृद्धि गरेको हो’ उनले भने, ‘अहिलेलाई सिँचाइ तथा नदी नियन्त्रण सम्बन्धी निर्माण सामग्री, कंक्रिट एडमिक्सर तथा वाटर प्रुफिङ लगायतको दररेट यथावत राखिएको छ ।’ नेपाल सरकारले श्रमिकलाई न्यूनतम १५ हजार रूपैयाँ दररेट कायम गरेकाले सोही अनुसार जिल्लामा ज्यालाको नयाँ दर निर्धारण गरिएको हो ।

बैठकले जिल्लामा ढुंगा, गिट्टी प्रति डोको १६५, बेतको टोकरी २० सीएम साईजको ३०० मुल्य तोकेको छ । नगरपालिकाभित्रको माटो प्रति घन मिटर ३५०, बाँस प्रति गोटा २८४, गोबर प्रति घनफिट ६, खर मुठाको २३, धानको भुस प्रतिकिलो ६ रुपैयाँ, नेपाली सिमेन्ट ओपीसी ७८० रुपैयाँ बोरी, पीपीसी ६८०, चिम्नीको इट्टा प्रति हजार १२ हजार, भुसमा पकाएको इट्टा प्रति हजार ८४२९ रुपैयाँ निर्धारण समितिले जनाएको छ ।

‘श्रमिकको हकमा नेपाल सरकार र निर्माण सामग्रीको हकमा राष्ट्र बैंकको मापदण्डलाई आधार मानेर ज्याला दर सार्वजनिक गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘नयाँ दरले श्रमिक र अन्यलाई केही राहत महसुस हुन्छ ।’ जिल्ला दररेट निर्धारण समिति बाँकेको बैठकले विज्ञहरुको दैनिक पारिश्रमिक भने ३ हजार ६४० रुपैयाँ कायम गरेको छ । जिल्ला दररेट निर्धारण समितिले जिल्लामा पछिल्ला पाँच वर्षयता दैनिक ज्यालादर बढाइराखेको छ ।

सरकारी दररेट वर्षेनी बढेपनि मजदुरहरुले भने सोही अनुपातमा दैनिक ज्याला पाउने नगरेको बताउँदै आएका छन् । कोभिड–१९ बाट नराम्री प्रभावित भएका मजदुरहरू यो दरले आफ्नो भावना सम्बोधन हुन नसकेको बताउँछन् । सामानको मूल्य अकासिँदा आफ्नो भने दैनिक गुजारा चलाउन नसक्ने गरी ज्याला बढेको उनीहरुको भनाई रहेको छ । ‘अहिले दैनिक एक हजार दुई सय रूपैयाँ ज्याला पाउँदै आएको छु’ बाँके राप्तीसोनारीका रेशम चौधरीले भने, ‘ज्याला बढ्लाभन्दा अझ कम भयो । बजारमा महंगी बढ्दा अहिले त कमाइरहेको पैसाले घरपरिवारको खर्च चलाउन पुग्दैन ।’

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ६ गते आइतबार