शिवु खनाल, दाङ,
कालोपत्रे मर्मत सम्पन्न गरेको लमही—घोराही जोड्ने सडक एकवर्ष नपुग्दै भाँसिन थालेको छ । सडकको दायाँबायाँका केही भाग भाँसिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक विभिन्न भाग भाँसिनुका साथै मर्मत गरिएको कालोपत्रे उप्किएको छ । गतवर्ष लमही—घोराही सडकखण्ड अन्र्तगत सडक मर्मत, कालोपत्रे र ठूला–ठूला खाल्डाहरू पुर्ने काम सम्पन्न भएको थियो । यस सडक खण्डमा कालोपत्रे गर्दा लगाइएका प्रायः नाला छेउका पर्खाल (वाल) पनि भत्किएका छन् ।
ठूला–ठूला खाल्डाहरू भएको कारण सवारी साधान संचालनमा समस्या उत्पन्न भएको सवारी चालकहरुको भनाइ छ । सडक एक स्थानमा मात्रै नभइ, विभिन्न ठाउँमा भत्किने, घुम्तीहरुमा कालोपत्रे उप्किएर सडक जीर्ण बनेको छ । जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा लमही—घोराही अन्र्तगत पर्ने २३ किलोमिटर सडक मर्मतको लागि सडक डिभिजन कार्यालय दाङले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटबाट भत्किएको तीन किलोमिटर क्षेत्रमा पक्की वाल लगाउने, कालोपत्रे उप्किएको र दायाँबायाँ नाला मर्मतको काम सम्पन्न भएको थियो भने १६ किलोमिटर सडक क्षेत्रको बीचमा भत्किएको नाला मर्मत र खाल्डा खुल्डी पुर्ने काम भएको थियो । कालोपत्रे भएको सडकमा दर्जनभन्दा बढि पक्की वाल निर्माण गरिएको थियो । अहिले ती पक्की वाल भाँसिनुका साथै सडक छेउ छोडी कालोपत्रे उप्किएका छन् ।
लमही—घोराहीको मुख्य सडकमै ठूला–ठूला खाल्डाहरू हुँदासम्म मर्मतमा सरोकारवाला कसैको ध्यान गएको छैन । मुख्य सडकमै ठूला–ठूला खाडल परेका छन् । सोहीबाटो भएर दिनमा सयौँपटक ओहोर–दोहोर गर्ने प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिहरु देखेको नदेख्यै गरी हिँड्ने गरेको पाइएको छ ।
जिल्ला सदरमुकाम घोराही र लमही जोड्ने मुख्य सडककै हालत यस्ता छन् भने गाउँ जाने सडकहरूको अवस्था झन् दयनी भएको लमही निवासी स्थानीय पवन रिजालले बताइ । सडक निर्माण तथा मर्मतमा सरोकार वालाहरूले ध्यान नदिएका कारण यस्तो समस्या आएको रिजालको भनाइ छ ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले सडक मर्मत कार्यलाई जतिसक्दो छिटो काम गर्नका लागि ताकेता गरेको बताए । उनले खाल्डाखुल्डी पुर्ने काम गराएरै छाड्ने दाबी गरे । सडक निर्माणलाई छिटो काम सम्पन्न गर्नका लागि आफूले दबाब दिँदै आएको कुरुम्वाङको भनाइ छ ।
यता सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी अमिर सुवेदीले ओभरलोडका कारण प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको
बताए । उनका अनुसार सडकको क्षमता भन्दा बढि सवारी साधनले ओभर लोड ढुवानी गर्ने गरेकोले प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको छ । त्यसकारण यात्रुहरुले सास्ती खेप्नु परेको उनले जानकारी दिए ।
यसवर्ष सडक मर्मतको लागि ३० लाख बजेट विनियोजन गरिएको छ । सडक मर्मतको काम सम्पन्न गर्ने गरी लागि परेकाछाँै । असोज महिनाको पहिलो हप्ताभित्र ठेकदारले उक्त सडक मर्मतको लागि कार्यदेश पाउने र तीब्र गतिमा काम अगाडि बढ्ने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी सुवेदी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्