वन्यजन्तु हेर्न वनमा मचान



शिवु खनाल । दाङ ।
वन्यजन्तु अवलोकनका लागि डिभिजन वन कार्यालय देउखुरी लमहीले मचान निर्माण गरेको छ । वन कार्यालय लमहीले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन र जंगलमा बसेर वन्यजन्तु हेर्न रुचाउने पर्यटकलाई लक्षीत गरेर मचान निर्माण गरिएको हो । ४ लाख ४५ हजार बजेटमा देउखुरी क्षेत्रको सामुदायिक वनमा पहिलो पटक मचान निर्माण गरिएको कार्यालयका सहायक वन अधिकृत रामगोपाल चौधरीले जानकारी
दिए । सामुदायिक वन क्षेत्रमा विभिन्न जनावरहरु देखिन थालेपछि अवलोकन गर्नको लागी लमहीको पारीजात सामुदायिक वन क्षेत्रमा २४ फिट अग्लो एकतले मचान अहिले निर्माण डिभिजन वन कार्यालय देउखुरीले गरेको छ ।

त्यहाँ पुग्नको लागि एक किलोमिटर पैदल बाटो समेत बनाइएको छ । मचान निर्माण गरिएको क्षेत्र मुख्यगरी बदेल, चित्तल, राते, हुडारको बासस्थान क्षेत्र हो । उक्त क्षेत्रमा पोखरी भएको हुनाले दुर्लभ वन्यजन्तुलाई पनि सजिलै देख्न सकिने सहायक वन अधिकृत चौधरीले दाबी गरे । ‘मचानबाट जंगली जनावर मृग, बँदेल, भालु, हुँडार लगायत वन्यजन्तु र विभिन्न चराचुरुङगी अवलोकन गर्न सकिन्छ’ उनले भने, ‘निर्माण गरिएको मचानमा ७ देखि ८ जना पर्यटक मञ्जाले बस्न मिल्नेछ ।’ अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले पर्यटकहरु जनावरहरु अवलोकन गर्न पाएर सुखी अनुभूति गर्ने बताउँछन् । ‘देउखुरी क्षेत्रका विभिन्न पर्यटकिय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरु बढ्दै गएका छन्’ उनले अगाडि थपे, ‘वन कार्यालय देउखुरीको पर्यटक आकर्षित गर्ने यो काम अहिलेसम्मकै राम्रो रहेको छ ।’

वन्यजन्तु अवलोकनका लागि पर्यटकीय गतिविधि सुरु भइसकेको डिभिजन वन कार्यालय देउखरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदी बताउँछन् । ‘उचीत स्रोतसाधनको अभाव र वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको खासै रोजाइको क्षेत्र बन्न नसकेका त्यस्ता मुख्य पर्यटकीय खोजेर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न तर्फ हामी लागेका छौं’ उनले भने, ‘दुर्लभ वन्यजन्तु हेर्न चाहने पर्यटकका लागि यहाँ नजिकका गन्तव्य छन् ।’ लमही बसपार्कबाट उत्रिसकेपछि राजमार्ग हुँदै आधा घन्टामै पुग्न सकिने र वन्यजन्तु अवलोकन गर्न सकिने भएकाले पर्यटकका लागि धेरै सहज भएको स्थानीय शेरसिङ् खड्काले बताए ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज जस्तै पर्यटकिय क्षेत्रमा देउखुरी धेरै अगाडि बढिसकेको छ । वन्यजन्तु अवलोकनका लागि डिभिजन वन कार्यालय देउखुरीले बाँके राष्ट्रिय निकुञ्जसँग सटेका विभिन्न सामुदायिक वनजंगल लगायत स्थानमा घाँसेमैदान तथा मचान निर्माणको कार्यक्रमलाई अगाडि सारेको बताएको छ । पर्यटकलाई लक्षित गरेर लमहीमा सुविधायुक्त होटल र वनघुस्री क्षेत्रमा थारु संस्कृतिमा आधारित होमस्टे सञ्चालनमा आइसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ४ गते शुक्रबार