अन्ततः नेकपा एमाले फुट्यो



कोहलपुर,

अन्ततः नेकपा एमाले फुटेको भएको छ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी दर्ता गरेसँगै नेकपा एमाले औपचारिक रुपमा फुटेको हो । नवौं महाधिवेशनदेखि नेकपा कालहुँदै बुधबारम्म नेता नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजन गर्ने निर्णयमा भने असहमत भए ।

सरकारले सिफारिस गरेको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेसँगै लामो समयदेखि एमालेमा रहेको विवाद विभाजनमा आएर टुंगिएको हो । अहिले एमाले प्रतिनिधि सभा सहित ५ वटा प्रदेशमा प्रमुख प्रतिपक्ष दलको हैसियतमा छ । प्रदेश १ र बागमती प्रदेशमा एमालले सरकारको नेतृत्व गरिरहेको छ ।

अध्यादेश जारी भएसँगै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा एमाले औपचारिक रुपमा विभाजित भएको छ । २०५४ सालमा पहिलोपटक विभाजित भएको नेकपा एमाले २४ वर्षपछि पुनःविभाजित भएको छ । त्यतिबेला एमाले फुट्दा नेपाल पार्टीको महासचिव थिए । नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य
रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । नेकपा एमालेबाट औपचारिक रुपमा अगत भएको नेपाल पक्षले चुनाव चिन्ह भने एकिन
गरेको छैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय, फागुन २३ गतेको सर्वोच्चको निर्णयपछि एमालेमा देखिएको विवाद लामो प्रयासका बाबजुत विभाजनमा गएर रोकिएको छ ।नेपाललाई ओली विरुद्धको संघर्षको बेला साथ दिएका दोस्रो तहका नेताले भने पार्टी विभाजनको बेलामा साथ दिएनन् । लामो समयदेखि नेपाल पक्षमा खुलेकी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्य भने बागमती प्रदेशको एमाले संसदीय दलको नेतामा चयन भएसँगै ओली पक्षमा खुलेकी छन् । उपाध्यक्ष युवराज ज्ञवाली सहित स्थायी कमिटी सदस्यहरु भीम रावत, सुरेन्द्र पाण्डे,घनश्याम भूसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतले नेपाललाई साथ दिएनन् ।

उनीहरुले पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी विभाजनमा नेपाललाई साथ दिन अस्वीकार गरे । पूर्वप्रधानमन्त्री नेपालले पार्टीको तेस्रो तहका नेताहरुको साथमा पार्टी विभाजनको अवस्थामा आइपुगेका हुन् । नयाँ पार्टी ९५ सदस्यीय केन्द्रीय कमिटी समेत प्रस्ताव गरिएको छ ।उक्त सदस्यमा बाँकेबाट गोविन्द्र कोइराला र दलबहादुर सुनार समेत रहेका छन् । निर्वाचन आयोगले नेपालले दिएको नयाँ दल दर्ताको निवेदन दर्ता गरेको जनाएको छ । उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३३ रहेको छ ।

आयोगमा बुधाबार नै जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामको नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दर्ता भएको छ । पुराना राजनीतिज्ञ महन्थ ठाकुरको अध्यक्षतामा गठित उक्त पार्टीको वरिष्ठ नेतामा राजेन्द्र महतोसहितको २४ सदस्यीय कार्यकारिणी समिति रहने गरी नयाँ दल दर्ता भएको छ । नयाँ दलमा साविक जसपाका १४ सांसद र १७ केन्द्रीय सदस्य रहेको जानकारी दिइएको छ ।

उक्त दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर ४३४ रहेको छ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ आज जारी गरेसँगै एकै दिन मुलुकको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेका एमाले र जसपा विभाजन भई नयाँ दल दर्ताको प्रक्रिया अघि बढेको
हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ३ गते बिहीबार