को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी ?



मुख्यमन्त्री केसीको जन्म रोल्पाको कोटगाउँ–२ लिवाङमा भएको हो । केसी २०२७ माघ १० गते एक किसान परिवारमा जन्मिएका थिए । बाबा टिकाराम केसी र आमा रजमता केसीका ६ सन्तान मध्ये केसी कान्छा सन्तान हुन् । केसीले प्रवेशिका सम्मको अध्ययन बालकल्याण माविबाट पुरा गरेका छन् ।

त्यसपछि उनले दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनितिशास्त्र अध्ययन गरेका छन् । रोल्पा जिल्ला सदस्यबाट नेकपा मसालबाट राजनीति जीवन प्रारम्भ गरेका केसीले २०४६ देखि २०४७ सालसम्म पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिव कामर काम गरेका थिए । त्यतिबेला नै पार्टी सदस्यता प्राप्त गरे । २०४८ सालमा पार्टीले एरिया सेके्रटरीको जिम्मेवारी दियो ।

पछि २०४७–२०४९ सम्म प्राविको स्थायी शिक्षक भएर अध्ययन गराए । शिक्षक भएकै समयमा २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जिल्ला भ्रमणमा कालो झण्डा देखाउँदा सरकारले विभिन्न मुद्दा लगाएर शिक्षकबाट हटायो । केसीले २०५० सालबाट अर्ध भूमिगत रुपमा पुनः सक्रिय राजनीति गर्न थाले ।

उनी शिक्षक भएर पनि दुई वर्ष अध्यापनसमेत गरे । ०४८ सालदेखि २०५० सालसम्म रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी शिक्षक भएका उनी ०५० सालमा सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएको भन्दै शिक्षकबाट अवकाश लिनुपरेको थियो । त्यसपछि उनी तत्कालीन जनमोर्चामा सक्रिय भई भूमिगत राजनीति सुरु गरेका थिए ।

पछि २०५२ मा माओवादीको उदय भएपछि उनी माओवादीको भूमिगत राजनीतिमा सक्रिय भए । पछि २०५२ मा माओवादीको उदय भएपछि उनी माओवादीको भूमिगत राजनीतिमा सक्रिय भए । केसी होलेरी आक्रमण गर्दा उक्त मोर्चामा सहभागी भएका थिए । आक्रमणमा केसीसँगै वर्षमान पुन,ओनसरी घर्ती ,ताराकुमारी घर्ती लगायत थिए । यी मध्ये ताराकुमारी घर्ती केसीको जीवनसंगिनी हुन् । घर्ती अहिले पार्टीको केन्द्रीय सदस्य छिन् ।

२०५५ सालमा पार्टीले केसी दाङ–सल्यान–प्यूठान संयुक्त जिल्लाको सेक्रेटरीको भूमिकामा रहे । पछि २०५६ सालमा भेरी–कर्णाली शैन्य कमिसार भए र २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । २०६०–२०६३ सम्म उनले भारतमा कठोर जेल जीवन समेत बिताए ।

२०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा केसी गिरफ्तार भए । उनलाई २०६० जेठ २० देखि २०६३ श्रावणसम्म भारतको बक्सर जेलमा कैदीको जीवन बिताए । उनकी श्रीमती तारा घर्ती पनि सँगै जेल परेकी थिइन् ।

जेलमुक्त भएपछि केसी पार्टीको जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए । त्यतिबेला नारायणी–भेरी –कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हाले । शान्ति प्रक्रिया सुरु भएपछि वाइसिएलको इन्चार्ज समेत भए । २०६९ सालमा ,एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिएका थिए । त्यसपछि वैद्य समूहमा लागेका केसी २०७३ सालमा प्रचण्ड नेतृत्वको पार्टीसँग भएको एकतामा सामेल भए । २०७४ मा भएको निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं.१‐क) बाट प्रदेश सदस्य निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि तत्कालीन प्रदेश नम्बर ५ को प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलको नेता बने । पछि नेकपा एमालेसँग पार्टी एकता भएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री, प्रदेश सह–इन्चार्ज तथा नेकपा संसदीय दलको उपनेता भएका थिए । २०७७ फागुन २३ मा सर्वोच्च माओवादी व्युताएपछि फेरी पार्टीको संसदीय दलको नेता चुनिए । २०७८ बैशाख ६ गते मन्त्री पद्बाट राजिनामा दिएका थिए । हक्की स्वभावका केसी ३ महिनाको प्रयासपछि चार दलीय गठबन्धनका तर्फबाट मुख्मन्त्री बनेका हुन् । मुख्यमन्त्री केसीका एक छोरा र एक छोरी छन् । उनको राजनीतिक उपनाम ‘सोनाम’ हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रबार