विद्युत अनियमितले सास्ती



कोहलपुर ।

नेपालगञ्ज उप–महानगरपालिका, १२ कोरियपुर क्षेत्रमा सोमबार राती डेढ घण्टा विद्युत अवरुद्ध भयो । के कारणले राती १२ बजेदेखि साढे १ बजेसम्म विद्युत् आएन भनेर स्थानीयलाई समेत जानकारी गराइएन । ‘चर्को गर्मीको बेला मध्यराती लामो समय बिजुली जाँदा कोठा बाहिर निस्कनुप¥यो’ स्थानीय करण पोख्रेलले भने, ‘त्यसपछि केही मिनेटका लागि आएको विद्युत फेरी आउने, जाने गरिरह्यो ।

रातभर सुत्न पाइएन ।’ एक महिनायता बाँकेमा विद्युत अनियमित हुँदा नागरिकहरुले सास्ती पाइरहेका छन् । जिल्लाका कोहलपुर, नेपालगञ्ज, खजुरा लगायतका क्षेत्रमा विद्युत प्राधिकरणले दैनिक एक दर्जन भन्दा बढी पटक बिना सूचना बिजुलीको लाइन काट्दै आएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले लोडसेडिङको भएको तथा त्यसको तालिका समेत सार्वजनिक गरेको छैन ।

अहिले बिना सूचना छिनछिनमा बिजुलीको लाइन काट्ने क्रम बढिरहेको छ । देशमा लोडसेडिङ हटिसकेको भनिएपनि नेपालगञ्जको अवस्था लोडसेडिङको भन्दा कम नभएको स्थानीय पोख्रेलले बताए । ‘हाम्रोतिर त एक हप्ता बढी भइसक्यो, दिनभर र रातभरी दर्जनौं पटक बिजुली जान्छ’ उनले भने, ‘बिजुलीले धेरै दिन भने सास्ती दिइरहेको छ ।’ अनियमित विद्युतले स्थानीय, उद्योग, कलकारखानालाई मात्र होइन अहिले अनलाइनबाट पढ्ने विद्यार्थीहरुलाई समेत समस्या पारेको छ ।

‘छिनछिनमा बिजुली जाँदा अनलाइनमा पढ्न समेत समस्या भइसक्यो’ कोहलपुरकी प्रकृती खड्काले भनिन्, ‘कोरोनाका कारण अहिले हाम्रो अनलाइनबाट नै कक्षा भइरहेको छ । छिनछिनमा विद्युत जाँदा अनलाइन कक्षा प्रभावित हुन्छ ।’ यस्तै नेपालगञ्जका हरी शाहीको समस्या पनि प्रकृतीको भन्दा फरक छैन । ‘सरकारले स्कुल, कलेज जान दिएको छैन । अनलाइन क्लास लिन बिजुली नियमित हुँदैन । दिनभर पढ्न र रातभर सुत्न पाइदैन’ शाहीले भने, ‘यस्तो अमानवीय हर्कत गर्दा समेत प्राधिकरणलाई भन्ने कोही भएन ।’

बिजुली अनियमित हुँदा नेपाल विद्युत प्राधिकरणले सेवा व्यवस्थापनमा चासो नदेखाएको भन्दै नागरिकहरु भने रुष्ट बनेका छन् । प्राधिकरणले भने विद्युतको माग अनुसार आपूर्ती कम हुँदा समस्या आएको बताइरहेको छ । विद्युत अनियमित हुन थालेपछि नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज र कोहलपुर वितरण केन्द्रमा पुगेर सरोकारवालाहरुले पटक–पटक ध्यानार्कषण गराएपनि समस्याको हल भने हुन सकेको छैन । बिजुली अनियमित सबैभन्दा बढी नेपालगञ्जमा हुने गरेको छ ।

विद्युत नियमित नहुँदा नेपालगञ्जको मात्र नभएर पश्चिमकै आर्थिक क्षेत्र प्रभावित बनेको नेपालगञ्ज बाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए । ‘यहाँको बिजुलीको समस्याबारे सरोकारवाला निकाय बेखबर छैनन् तर पनि समस्या समाधानका लागि गम्भीर नबन्दा समस्या आएको हो’ उनले भने, ‘छिनछिनमा बिजुली जाने आउने गर्दा पूर्ण क्षमतामा उद्योग कलकारखाना चल्न सकेका छैनन् ।’

भारतबाट तथा राष्ट्रिय प्रशारणबाट नेपालगञ्जमा आपूर्ती भइरहेको बिजुलीले माग धान्न नसकेकाले कुनै बेला समस्या आउने गरेको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकले बताए । ‘नेपालगञ्जको माग वर्षेनी बढिरहेको छ’ उनले भने, ‘माग अनुसार लोड धान्न नसक्दा समस्या आउने हो ।

यो समस्या समाधानको लागि हामी लागिपरेका छौं ।’ नेपालगञ्जमा बिजुली आपूर्तीको लागि भारत र नेपालकै राष्ट्रिय प्रशारण लाइनबाट विद्युत आपूर्ती हुँदै आइरहेको छ । त्यसले पनि माग धान्न नसकेपछि बिजुली अनियमित हुने गरेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २६ गते मंगलबार