पेस्तोल बेच्न हिँडेका भारतीय पक्राउ



दाङ ।

जिल्ला प्रहरी कार्यालय दाङले स्वचालित पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१, जुरौलीबाट एकथान स्वचालित पेस्तोल, दुईथान म्यागजिन, दुईथान गोली र तीनवटा मोबाइलसहित प्रहरीको बिशेष टोलिले उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको सिद्धार्थनगर, बढी–३ का २२ वर्षीय करमुल्लाह आमिर र बढी–८ का १९ वर्षीय राजा खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुलाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट संयुक्त रुपमा प्रहरीको टोली खटिएको थियो । ‘आमिरको कम्मरमा लुकाइराखेको पेस्तोलसहित म्यागजिन र गोली बरामद भएको हो’ एसपी काफ्लेले भने, ‘बरामद पेस्तोल बिल्कुल नयाँ हो र त्यसबाट एक फायर पनि भएको देखिएन ।’ मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर हतियारसहित उनीहरुलाई सार्वजनिक गरेको थियो ।

पक्राउ परेका उनीहरुले बिक्रीका लागि दाङमा हतियार ल्याएको बयान दिएको प्रहरीले जनाएको छ । हतियारसहित मानिस आउँदै गरेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको एसपी काफ्लेले बताए । दाङका एक मानिसलाई ती भारतीय नागरिकहरूले तीन लाखमा अन्तिम डिल गरेर बिक्री गर्न आउँदै गर्दा दाङ र कपिलवस्तुको सीमाना क्षेत्र कालाकाटे भन्ने ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘पक्राउ परेका व्यक्तिहरूले यसअघि पनि जिल्लामा ल्याएर हतियार बिक्री गरेको देखिन आएको छ,’ एसपी काफ्लेले भने, ‘यसपटक हतियार किन्न खोज्ने पनि अनपेक्षित व्यक्ति छन् ।’ ती व्यक्ति हाल फरार रहेको र प्रहरीले पिछा गरिरहेको उनले जानकारी दिए । पक्राउ परेका उनीहरु विरुद्ध हातहतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २० गते बुधबार