नेपालगञ्ज ।
नियमित पोखरा–नेपालगञ्ज सिधा हवाई उडान आजदेखि सुरु हुँदैछ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले आजदेखि यो रुटमा नियमित उडान गर्न लागेको हो । यसअघि बुद्धले गत बैशाख १८ गतेदेखि नै पोखरा–नेपालगञ्ज उडान गर्ने योजना बनाएको भएपनि कोरोना भाइरस संक्रमण बढेपछि रोकिएको थियो । बुद्धले पहिलो चरणमा सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) पोखरा–नेपालगञ्ज–पोखरा रुटमा उडान गर्ने बुद्ध एयरको नेपालगञ्जस्थित स्टेशनले जनाएको छ ।
पहिलो चरणमा सातामा तीनदिन मात्र उडान गर्ने तालिका बनाएपनि यात्रुको चाप बढ्दै गएमा सातैदिन वा दिनमै एकभन्दा बढी उडान पनि गर्ने योजना बनाएको छ । ‘पोखरा–नेपालगञ्ज सम्भावनायुक्त हवाई रुट हो । कोरोनाका कारण अहिले भारतीय बोर्डर नखुल्दा आउजाउ रोकिएको भएपनि अवस्था सहज हुँदा यात्रु अभाव हुँदैन,’ बुद्ध एयरका नेपालगञ्जस्थित प्रमुख विनित शाहले भने, ‘भारतीय सहरसँग नजिक भएको र भारतीय पाहुना आउजाउ गर्ने हुँदा पनि हवाई उडानलाई यात्रु अभाव नहुने हाम्रो अनुमान हो ।’ उनका अनुसार पोखराबाट बिहान ९ बजेर १० मिनेटमा जहाज नेपालगञ्जका लागि उड्नेछ । नेपालगञ्जबाट १० बजे पोखराका लागि उडान हुनेछ । १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पहिलो चरणमा यो रुटमा उडान गर्ने उनले बताए ।
‘यात्रुको चाप बढेमा ठुलाआकारका जहाज वा दैनिक उडानसंख्या पनि थप्न सकिन्छ,’ उनले भने, ‘पोखरा–नेपालगञ्ज स्थलमार्गको यात्रा लामो अवधिको हुने भएकोले पनि यात्रुले हवाई यात्रा रोज्ने अनुमान छ ।’ नेपालगञ्जबाट केही घण्टाको दूरिमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली चिसापानी भएकोले पनि पर्यटकीय गतिविधि बढाउन यो उडानले सघाउने उनले बताए । पोखरा–नेपालगञ्ज ३५ मिनेटको उडान हो । बुद्धले यो रुटमा तीनप्रकारको भाडादर तोकेको छ । सबैभन्दा महंगो भाडा ७६ सय ३५ रुपैयाँ पर्नेछ ।
मध्यमस्तरको भाडादर ५५ सय ३५ र सबैभन्दा सस्तो ४९ सय ३५ रुपैयाँ हो । यात्रुको चाप अनुसार भाडादर पनि तलमाथि भइरहनेछ । बुद्धसँग अहिले ७० सिट क्षमताका एटिआर७२–५०० सिरिजका ११ वटा जहाज छन् । त्यस्तै ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ र १८ सिट क्षमताका बिचक्राफ्ट १९०० डी दुईवटा जहाज छन् ।
अहिले बुद्धले पोखराबाट काठमाडौं, भैरहवा र भरतपुर उडान गरिरहेको छ । कोरोनाको दोश्रो महामारी कम भएसँगै हवाई उडान खुलेपछि बुद्धले पोखराबाट भैरहवामा उडान सुरु गर्दा सातामा तीनदिनमात्र उडान भईरहेको थियो । अहिले यात्रुको संख्या बढेपछि दैनिक दुईवटासम्म उडान गरिरहेको छ । भैरहवा, नेपालगञ्ज, बिराटनगर र सिमरा भारतीय सहरसँग नजिक रहेको र भारतीय पर्यटक नेपाल आउने भएकोले पनि यी रुटमा हवाई उडान आवश्यक रहेको बुद्ध एयरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्