29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

पुरानै नियमलाई निरन्तरता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १, २०७८  

कोहलपुर ।

बाँकेमा फेरी निषेधाज्ञाको समय बढाइएको छ । गत बैशाख १३ गतेदेखि जिल्लाभर जारी गरिएको निषेधाज्ञा पछिल्लोपटक फेरी बिहीवार थपिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक आदेश जारी गरेर निषेधाज्ञा थप १० दिन बढाइएको जानकारी दिएका हुन् । यसपटक थप गरिएको निषेधाज्ञामा पुरानै नियमलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणदर क्रमशः घट्दै गएको भएपनि जोखिमको सम्भावना कायम नै रहेकोले निषेधाज्ञा बढाउनुपरेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । ‘एक महिनायता जिल्लामा संक्रमणदर घटिरहेको देखिन्छ’ उनले भने ‘जोखिम कायमै रहेकोले सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञाको समय बढाइएको छ ।’ उनले जारी गरेको आदेशमा यसअघि रोक लगाइएका कार्यहरु तपसिल अनुसार नै हुने उल्लेख रहेको छ । उद्योग व्यवसाय खोल्ने हकमा भने यसअघिको निर्णयलाई बढाइएकोछ ।

अब साँझ ७ बजेसम्म मात्र दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु खोल्न पाइनेछ । निषेधाज्ञाको समयमा वैकल्पिक माध्यमबाट हुने शिक्षण तथा सिकाई, बैंक तथा वित्तीय संस्था, कृषि, उद्योग, कलकारखाना, निर्माण कार्य र रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा पहिलेकै अनुसार हुनेछन् ।

त्यसैगरी विवाह , ब्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी हुन पाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सञ्चालन गर्न पाउने पेशा व्यवसाय, कार्यमा सम्बद्ध व्यक्तिहरुको अनिवार्य रुपमा परिचय पत्र हुनुपर्ने आदेशमा उल्लेख गरिएको छ । तर मास्क, भौतिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना हुने व्यवस्था मिलाउनुपर्ने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए । जिल्लाभित्र सबै खालका सवारी साधन सञ्चालन भने यसअघि नै आइसकेका छन् ।

के–के खोल्न पाइने छैन ?

निषेधाज्ञालाई केही खुकुलो बनाइए पनि केही क्षेत्रहरुमा भने अझै रोक नै लगाइएको छ । शैक्षिक, मनोरञ्जन लगायतका क्षेत्रहरु तत्काल सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी गेलालले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

सबै खाले शैक्षिक संस्थाहरु, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, डान्सवार, स्पा, सेलुन तथा ब्युटी पार्लर सञ्चालन गर्न पाइनेछैन ।

त्यसैगरी पुजारीबाट हुने नित्य पूजा बाहेकका सबै प्रकारका धार्मिक तथा साँस्कृतिक गतिविधिहरु रोक लगाइएको छ । निषेधाज्ञाको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम व्यक्तिले उल्लघंन गरो एक लाख रुपैयाँसम्म र संस्थाले गरेमा पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने आदेशमा चेतावनी दिइएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १, २०७८     8:35:23 AM  |