नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न



कोहलपुर

बाँकेको नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्जस्थित नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले गरेका थिए । आयोजक संस्था समाज सेवा संस्था नेपाल, कोहलपुरका अध्यक्ष विनोद थापाका अनुसार कुल ५४ जनाले रक्तदान गरेका छन् । ती मध्ये ४६ जना पुरुष र ८ जना महिला रहेको उनले बताए । रक्तदान कार्यक्रमको समापनमा बोल्दै प्रमुख राणाले रगतदान गर्नु जीवनदान गर्नु सरह भएको बताए । उनका अनुसार प्रत्येक तीन महिनामा रक्तदान गर्नु स्वास्थ्यका दृष्टिले पनि राम्रो हुन्छ ।

उनले सामाजिक संघ संस्थाहरुको आयोजनामा भएको रक्तदान कार्यक्रम गर्नु सकारात्मक कुरा भएको बताए ।‘कोरोना कहरको समयमा रगत अभाव भयो । धेरैले रगत नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो ।’ उनले भने । अब कसैले रगत अभाव भएकै कारण ज्यान गुमाउनुपर्ने अवस्था नहोस भन्नको लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्याम कृष्ण अधिकारीको समेत सहभागिता रहेको थियो । आयोजक समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले जिल्ला भएको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार संस्थाले लामो समयदेखि विभिन्न अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द, माइती नेपाल, माइती यूवा सञ्जाल, नेपालगन्ज, बाँके र समाज सेवाको समन्वय रहेको थियो ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रबार