16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

चार पत्रकार पुरस्कृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८  

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशका चार जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । बिहीवार एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक जनालाई अग्रज पत्रकारिता पुरस्कार र तीन जनालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । ६७ वर्षीय गौतमलाई एक लाख रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको हो । यस्तै सिर्जनशील पत्रकारिता पुरस्कारबाट बाँकेकी अक्षरी पोखरेल, गुल्मीका जनार्दन घिमिरे र रुपन्देहीका हिक्मत चौधरी (मरणोपरान्त) पुरस्कृत भएका हुन् ।

उनीहरुलाई जनही ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । चौधरी कोरोना संक्रमणबाट मृत्यु भएकाले उनको पुरस्कार धर्मपत्नी उदयदेवी कुँवरलाई प्रदान गरिएको
हो । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले पत्रकारहरुलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका थिए । पुरस्कार वितरणका लागि मन्त्रालयले रुपन्देहीका पत्रकार डीआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केबी घिमिरे सदस्य रहेको छनोट समिति गठन गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८     9:10:18 AM  |