संचार विधेयक फिर्ता लिन माग, पत्रकार महासंघले पठायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र



नेपालगञ्ज ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि हालै पठाएको संचारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुर्नलेखन गर्न बाँकेका पत्रकारहरुले माग गरेका छन् । उक्त संचार विधेयक फिर्तासँगै पुर्नलेखन गर्न माग गर्दै नेपाल पत्रकार महासघ बाँकेले आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाईएको थियो ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा बोल्दै पत्रकार अगुवाहरुले विधेयकको उद्देश्य प्रदेश भरीका संचार माध्यमहरुको हकहीतको रक्षा गर्ने र नियमन गर्ने हुनु पर्नेमा ठिक विपरित भएको बताएका थिए ।

पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषी चौलागाईले विधेयकको प्रस्तावनादेखि अधिकाश धारा उपधारमा संचार माध्यम र संचारकर्मीहरुलाई डण्ड जरीवानादेखि जेल सजा“यसम्मको प्रावधान राखिएको बताउँदै तत्काल फिर्ता लिई पुर्नलेखन गर्नुपर्ने माग गरे । उक्त विधेयक कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उनको भनाई रहेका थियो ।

महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, सल्लाहकार डक्ट प्रसाद धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायत अग्रज पत्रकार एवं आस्थागत संघसंगठनका अगुवाहरुले आजको व्यवस्था ल्याउनका लागि संचार माध्यम र संचारकर्मीहरुले हिजो खेलेको भुमिका चटक्क बिर्सिएर मिडिया र मिडियाकर्मीहरुमाथी कानुनी डण्डा चलाउने सोच विधेयकमा प्रष्ट झल्कीएको बताएका थिए ।

महासंघ बाँके शाखाका अध्यक्ष भण्डारीले विधेयक प्रदेश सभावाट फिर्ता गरेर पुर्नलेखनको वातावरण मिलाउन माग गर्दै यो ज्ञापन पत्र पेश गरिएको जानकारी दिए ।

संचार माध्यम र संचारकर्मीहरुको मर्म र धर्म बुझ्नु भएकोले मुख्यमन्त्रीका हिसावले तत्काल सरोकारवालाहरुसँग छलफल गराएर संचारमैत्री विधेयक निमार्णको वातावरण बनाउनु हुने छ भन्ने अपेक्षा गरिएको बताउँदै अध्यक्ष भण्डारीले यहि अवस्थामा अघि बढेमा हामी थप आन्दोलनका कार्यक्रमहरु प्रदेशभरी नै संचालन गर्न बाध्य चेतावनी दिए । आइतवार नै महासंघले सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार