नेपालगञ्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले रातीमा अनावश्यक हिड्नेलाई पक्राउ गर्न थालेको छ ।
सोही क्रममा नेपालगञ्ज क्षेत्रबाट मात्रै शुक्रवार राती २२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।
जिल्लामा पछिल्ला दिनहरुमा चोरीमा घटनाहरु बढेसँगै बाँके प्रहरीले रातीको समयमा हिड्नेहरुलाई नियन्त्रणमा लिने अभियान थालेको हो ।
‘रातीमा अनावश्यक हिड्ने २२ जनालाई शुक्रवार राती नियन्त्रणमा लिएका थियौं’ डिएसपी न्यौपानेले भने, ‘यो अभियानलाई अझै निरन्तरता दिइनेछ ।’ बाँके प्रहरीले काम नपरी आधा रातमा हिड्नेहरु सही नहुने बताएको छ ।
‘रातीमा अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिने र सोधपुछ गर्ने अभियान थालेका छौं’ डिएसपी न्यौपानले भने, ‘जरुरी काम नै परेका व्यक्तिलाई केही गर्दैनौं । अनावश्यक हिडेका छन् भने उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्छौं ।’
खासगरी नेपालगञ्ज क्षेत्रमा बढेका लागू औषध र चोरीका घटना न्यूनीकरणमा सहयोग पुग्ने दाबी गरेको छ ।
शुक्रवार राती नियन्त्रणमा लिइएका २२ जनालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रातीमा पक्राउ परेकाहरुलाई रातभरी प्रहरीले हिरासतमा थुन्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्