8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

घट्यो कोरोनाबाट मृत्यु हुने संख्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

कोहलपुर ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा मंगलबार ६८ जना संक्रमितको मृत्यु भएको छ । जुन २५ दिनयताकै कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको मृत्यु भएको थियो ।

त्यसपछि वैशाख २७ गते १३९ र २८ गते २२५ जनाको मृत्यु भएको थियो । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो । त्यसपछि मृतक संख्या घट्दै आएर जेठ १४ गते ९६ जनामा झरेको थियो । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको थियो । नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

यस्तै १० वर्षमुनिका १७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमैर समूहका ४५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा १०६०, मोरङमा २९१, ललितपुरमा २८३, झापामा २८३, काभ्रेपलाञ्चोकमा २३२, भक्तपुरमा २१५ र सुनसरीमा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै धनुषामा १९२, गोरखामा १८८, चितवनमा १७४, कास्कीमा १६९,दाङमा १३८, पाल्पामा १२६, मकवानपुरमा ११६, सिन्धुपाल्चोकमा १०८ र रूपन्देहीमा १०३ जना कोरोना संक्रमित थपिएका हुन् । सुर्खेतमा ९६, रामेछापमा ९४, नुवाकोटमा ७९, सर्लाहीमा ७६, धादिङमा ७४, सिरहामा ६५, महोत्तरीमा ५८, दोलखा र दैलेखमा ५५-५ जना, डडेलधुरामा ५४ र बारामा ५० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै तनहुँमा ४२, बाँकेमा ३८, नवलपरासी पूर्व र कैलालीमा ३२-३२ जना, सिन्धुलीमा ३१, दार्चुलामा ३०, डोटीमा २९, ओखलढुंगामा २८, स्याङ्जा र कपिलवस्तुमा २७-२७, बर्दिया र कञ्चनपुरमा २५-२५ जना, धनकुटामा २४, कालीकोटमा २३ र नवलपरासी पश्चिममा २१ जना कोरोना संक्रमित थपिएका थिए ।

म्याग्दीमा १९, इलाम र सल्यानमा १८-१८ जना, लमजुङ र अर्घाखाँचीमा १७-१७ जना, रौतहटमा १५, सप्तरी र रूकुम पश्चिममा १४-१४ जना ,पर्सामा १२ र उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै गुल्मी, प्युठान र जुम्लामा ७-७ जना, रोल्पा र जाजरकोटमा ६-६ जना, खोटाङ र बागलुङमा ५-५ जना, ताप्लेजुङ र रसुवामा ३-३ जना, संखुवासभामा २ तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, पर्वत, रूकुम पूर्व, र अछाममा १÷१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     7:25:59 AM  |