26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

काफ्लेलाई ‘कन्जरभेसन अवार्ड’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८  

नेपालगञ्ज ।

बाँके नेपालगञ्जका युवा हेमन्तराज काफ्ले ‘अब्राहम कन्जरभेसन अवार्ड–२०२१’ बाट सम्मानित भएका छन् ।

नेपालगञ्ज उप–महानगरपालिका १९ निवासी काफ्लेलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले वातावरण संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै बुधबार भर्चुअल प्रविधीमार्फत् नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरेको हो ।

डब्लुडब्लुएफ नेपालले हरेक वर्ष वन्यजन्तु तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेबापत व्यक्ति तथा संस्थालाई यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।

वातावरण संरक्षणमा रुची राख्ने गरेका काफ्लेले कसैको जन्मदिन, बैबाहिक वर्षगाँठ, ब्रतबन्ध, विभिन्न चाडपर्वका अवसरमा निम, जामुन, सितलचिनी, कोईरालो, अगस्त, कागतीलगायत प्रजातीका बिरुवा उपहार स्वरुप दिँदै आएका छन् ।

नेपालगञ्ज आएका मुलुकका विशिष्ट व्यक्तिलाई समेत उनले उपहार स्वरुप बिरुवा वितरण गर्दै आएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्व राजा ज्ञानेन्द्र शाह, मन्त्री, पुर्वमन्त्री, सांसद, कलाकार, चिकित्सक, कर्मचारी, पत्रकार, राजनीतिक नेता लगायतलाई विरुवा दिइसकेका छन् ।

वातावरण संरक्षणमा सबैको सहभागिता र सकारात्मक सोच पैदा होस् भन्ने उद्देश्यले नेपालगञ्जमा विगत ११ बर्षदेखि उपहारस्वरुप बिरुवा दिँदै आएको काफ्लेले जानकारी दिए ।

कन्जरभेसन अवार्ड प्राप्त गरिसकेपछि आफूलाई वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने थप उर्जा जागेको उनले बताए ।

‘मैले यति ठुलो अवार्ड पाउँला भनेर हरित अभियान थालेको होइन, तर मेरो मूल्यांकन गरेर अवार्ड प्रदान गर्नुभयो, यसले संरक्षणको क्षेत्रमा काम गर्ने थप हौसला मिलेको छ,’ भने ।

शिक्षण पेशामा आवद्ध रहेका काफ्लेले पछिल्लो समयमा आफ्नै नर्सरीबाट बिरुवा उत्पादन गरिरहेका छन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८     9:14:52 AM  |