कोहलपुर ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न कोभिड अस्पताललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालसहित प्रदेशका तीन अस्पताललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरस संक्रमणको अवस्था भयावह भएका तीन जिल्लाका सरकारी कोभिड अस्पताललाई आर्थिक सहयोग गर्ने सोमबार निर्णय गरिएको थियो ।
प्रदेश सरकारले प्रति अस्पताल ५० लाखका दरले सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोरोना महामारीसँग जुधिरहेको बाँकेस्थित भेरी अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रण तथा अक्सिजन अभाव हुन नदिनको लागि बैकल्पिक उपायको खोजी गर्न ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताइएको छ ।
भेरीसहित दाङको बेलझुण्डी र प्रादेशिक अस्पताल बुटवललाई ५०÷५० लाख दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । यस्तै प्रदेश सरकारले भिम अस्पताललाई २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले चारवटा अस्पताललाई १ करोड ७५ लाख रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरिएको हो । त्यसैगरी, प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय समेत गरेको केसी जानकारी दिए ।