फेरि सक्रिय हुँदै पश्चिमी वायु वर्षा र हिमपातको सम्भावना



कोहलपुर ।

नेपालमा फेरी पश्चिमी वायु सक्रिय हुने भएपछि वर्षा र हिमपातको सभ्भावना देखिएको छ । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपराह्न हल्का वर्षा समेत भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागेपनि बुधबारदेखि वर्षा र हिमपातको सभ्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई बुधबारपछि वर्षात हुने उनीहरुको भनाइ रहेको छ । मौसमविद् सजिना शाक्यले आगामी भोली बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइन् । ‘पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना देखिन्छ’ उनले भनिन्,  ‘तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ ।’

देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सोमबार विहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको थियो ।

आज मङ्गलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । केही दिनयता बाँके लगायतका जिल्लाहरुमा विहानदेखि साँझसम्म पारिलो घाम लागिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २७ गते मंगलबार