काम गर्न पाइन, त्यसैले ताजा जनादेशमा जानुपर्ने भयो : ओली



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीमा जुट्न चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । उनले आफूले काम गर्न नपाएको हुँदा ताजा जनादेशमा जानुपरेको बताएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

आइतबार नै ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले संसद विघटनको घोषणा गर्दै वैशाखमा दुई चरणको निर्वाचन समेत घोषणा गरेकी थिइन् ।

संसद विघटनपछि मुलुकको राजनीतिक अवस्था तातेको छ । निर्वाचन घोषणा र उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे छलफल गर्न प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई बोालएका थिए ।

प्रधामन्त्रीको भनाइलाई उद्धृत गर्दै बैठकमा सहभागी एकले भने, “उहाँले मैले काम गर्न पाइन । ताजा जनादेशमा जाने निर्णय गरेका छौँ । तपाईँहरू सबै निर्वाचनमा केन्द्रित हुनुस् । सुरक्षा प्रबन्ध निर्वाचन केन्द्रित गरेर तय गर्नुहोस् ।”

प्रधानमन्त्री ओलीले आफूले चालेको कदमबारे समेत सुरक्षा प्रमुखहरुलाई जानकारी गराएका थिए । बैैठकमा गृहमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री र चारवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार