कोहलपुर ।
उद्योगी व्यवसायीहरुका समस्याहरु हल गर्न प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुरले आग्रह गरेको छ । व्यवसायीका समस्याहरु समाधानको लागि आइतबार संघले कोहलपुर उद्योग बाणिज्य संघलाई ज्ञापनपत्र बुझाएको थियो । कोरोना कहरका कारण आक्रान्त बनेका व्यवसायीलाई व्यवसायिक उन्नतीका कार्यक्रमहरु सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । संघले उद्योगी व्यवसायीहरुको साझा संस्था कोहलपुर उद्योग बाणिज्य संघलाई समस्या समाधानका लागि पहल गर्न माग गरेको थियो ।
व्यवसायीको एक टोलीले बाणिज्य संघका उपाध्यक्षद्वय प्रदिप भट्टराई र लक्ष्मण पौडेललाई मागपत्र बुझाएको हो । प्रजातान्त्रिक उद्योग वाणिज्य संघ, बाँकेका सह–सचिव लक्ष्मणराज पौडेल र प्रजातान्त्रिक उद्योग वाणिज्य संघ, कोहलपुर संयोजक मातृका सापकोटाद्वारा हस्ताक्षरित मागपत्रमा भनिएको छ, ‘मुलुक भरमै अर्थतन्त्र खस्कदै गइरहेको अवस्थामा सबैभन्दा बढी दायित्व बहन गर्ने उद्योगी व्यवसायीका साझा समस्या सामधानका विषयमा गम्भिर रुपमा संवेदनशील बन्न सरोकारवाला निकायहरुलाई जोडदार रुपमा माग गर्दछौँ ।’
कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष भट्टराईले व्यवसायीहरुले मागलाई संघको कार्यसमिति वैठक बसेर सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्वता जनाएका थिए । उद्योग वाणिज्य संघ नियामक निकाय नभई दवाव सिर्जना गर्ने व्यवसायीहरुको छाता संगठन भएकाले आम व्यवसायीहरुले उठान गरेका समस्या समाधानका लागि संघ सदैव संवेदनशील रहेको उनले बताए ।
माग पत्रमा संघले आ.व. २०७६-०७७ को नविकरण वापत लिदै आएको दस्तुर रकममा ७५ प्रतिशत छुट गर्नु पर्ने, एक व्यवसायीक प्रतिष्ठान-फर्म एक पीसीआर परीक्षणको व्यवस्था मिलाउन पहल गर्नुपर्ने लगायतका ६ बुँदे माग सम्बोधनका लागि संघलाई आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्