सम्पादकीय : पूर्व कमलरीका दुःख



नेपालको पश्चिम तराईमा बँधुवा मजदुरी÷कमलरी प्रथा प्रचलनमा थियो । यस प्रथामा निश्चित रकमका लागि बाबुआमाले साहुको घरमा छोराछोरीलाई काम गर्न पठाउनु पथ्र्थौं । पहिला विशेषगरि थारु समुदायका छोरीहरुलाई जमिनदार र सम्भ्रान्त वर्गले कमलरीको रुपमा काममा लगाउँथे । ऋण चुक्ता नहुन्जेल त्यस बच्चालाई साहूले घरायसी काम गराउन सक्थ्योे । यसरी सानै उमेरदेखि जमिनदार र सम्भ्रान्त वर्गले घरायसी मजदुरका रूपमा राख्ने कामलाई कमलरी राख्ने भनिन्छ । यसको प्रमुख कारण हो, गरीबी र अशिक्षा । पछिल्लो चरणमा मानव अधिकारको व्यापक बहस र समाजमा शिक्षाको स्तर बढ्दै जाँदा यसको उन्मूलनतर्फ पाइलाहरू चालिए । फलस्वरुप सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा ग¥यो ।

त्यसरी कमलरी राख्ने चलन प्रायः ती जिल्लामा अहिले पनि भित्रिरुपमा प्रचलनमा छ । पश्चिम तराईका बाँके, बर्दिया दाङ र कैलाली लगायतका जिल्लामा कमलरी मुक्त घोषणा गरिएका छन् । कमलरी मुक्तिपछि उनीहरु घर फर्किए । केही कमलरीहरु सांसदसम्म पनि भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) की सांसद शान्ता चौधरी समेत पूर्व कमलरी हुन् । यस्तै अन्य कमलरीहरु समेत सामाजिक क्षेत्रमा सक्रिय छन् । तर कतिपय कमलरीहरु अहिले भूई मान्छेको जस्तो जीवन जिउन बाध्य छन् । उनीहरुको जीवन अहिले पनि दुःखै दुःखमा बितिरहेको छ । उनीहरुको समाजको मुल प्रवाहमा आउन सकेका छैनन् ।

एकातिर कमजोर सामाजिक जागरण अर्कातिर छोरीहरुलाई सिमित घेराबाट बाहिर ल्याउन नसक्नु जस्ता कारणले पूर्वकमलरीहरु अहिले पनि खुलेर समाजमा आउन सकेका छैनन् । उनीहरुलाई समाजको मूल प्रवाहमा ल्याउन नसक्नु राज्यको कमजोरी हो । तीन तहका सरकार छन् । तीनै तहका सरकारहरुले उनीहरुको शसक्तिकरणमा ध्यान दिनुपर्ने देखिन्छ । तर अहिलेसम्म सरकारको प्राथमिकतामा उनीहरु पर्न सकेको देखिदैन । पहिले निश्चित रकममा अर्कोको घरमा काम गर्नेहरु अहिले पैसा कमाउनको लागि दिनरात नभनि लागिरहेको दुःख गरिरहेको अवस्था छ । राज्यको सौतेनी व्यवहार, समाजको तिस्कार र परिवारले समेत राम्रोसँग नबुझिदिदाँ समस्या भएको छ । पूर्व कमलरीहरु पनि अरु नागरिक जस्तै हुन् । उनीहरुलाई घृणा गर्नु भन्दा पनि उनीहरुको आत्मबल बनाउन सहयोग गरौं । स्थानीय सरकारले समेत प्राथमिकताका साथ उनीहरुलाई सिपमुलक क्षेत्रमा लगाउनुपर्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार