सुदीप अधिकारी । बर्दिया ।
सामुहिक आवास कार्यक्रमअन्र्तगत बर्दियाको गेरुवा गाउँपालिका वडा नं २ मा विपन्न सोनाहा समुदायका लागि निर्माण गरिएका घर बनाउँदा कमसल सामाग्रीको प्रयोग गरेको पाइएको छ । सामुहिक आवास कार्यक्रमका लागि गठित उपभोक्ता समितिले घर निर्माण गर्दा इट्टा, सिमेन्टलगाएतका निर्माण सामाग्री कमसल प्रयोग गरेको पाइएपछि निर्माणमा अनियमितता भएको आशंका गरिएको छ । सामुहिक आवास कार्याक्रमअन्र्तगत बर्दियाको गेरुवा गाउँपालिका वडा नं २ स्थित विपन्न सोनाहा समुदायका लागि घर निर्माण गरिएको छ ।
उपभोक्ता समितिका पदाधिकारीले घर निर्माण गर्दा घाटा लागेको भन्दै प्रतिघर १० हजार रुपैँया उठाउन थालेपछि लाभग्राहीले अनियमितताको आशंका गरेका हुन् । घर निर्माण गर्दा चिम्नीको १ नम्बरको इट्टा र पीपीसी सिमेन्ट प्रयोग गर्नुको सट्टा २ नम्बरको इट्टा प्रयोग गरिएको लाभग्राहीले बताएका छन् । उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षले कार्यसमितिका अन्य सदस्यलाई समेत जानकारी नै नदिएर एकलौटी रुपमा काम गरेको सोनाहा बस्तीका बासीन्दाले आरोप लगाएका छन् । उपभोक्ता समिति लाभग्राही सोनाहा जातीबाटै चुनिएका हुन् ।
घर निर्माण गरिएको घरको अवस्था देखेरै पदाधिकारीहरुले अनिमितता गरेको सहजै देखिने स्थानिय सोनाहाहरु बताउँछन् । समितिका पदाधिकारीले आफनो घर अरुको भन्दा व्यवस्थित र राम्रो बनाएको सोनाहाहरुको भनाई छ । समितिका पदाधिकारीहरुको घरको जग अरुको भन्दा अग्लो, व्यवस्थित सिँढी र आर्कषक रंगरोगन लगाएको देखिन्छ । भने अन्यको घर सामान्य अवस्थाको छ । समितिका पदाधिकारीले घरको डिजाइन तथा स्टिमेट, निर्माण सामाग्रीको मापदण्डका बारेमा सम्वन्धित घर धनीलाई जानकारी नै नदिई घर निर्माण काम गरेको सामुदायिक आवास कार्यक्रम उपभोक्ता समितिका सदस्य फुलराम सोनाहाले बताए । उनले भने, ‘हामीलाई केही थाहा दिएनन् । डिजाइन र स्टिमेट माग्दा इन्जिनियरसँग माग्नु भनेर टारे । ’
तराई मधेश समृद्ध कार्यक्रमअन्र्तगत समपुरक अनुदान, गेरुवा गाउँपालिका र उपभोक्ता समितिको गरि करिव १ करोड रुपैँया लागतमा विपन्न सोनाहाका लागि १९ वटा घर निर्माण गरिएका छन् । निर्माण सुरु भए लगत्तै मुलुकमा लकडाउन भएका कारण सामाग्रीको मूल्य बढेकाले केही घरमा मापदण्ड अनुसारको निर्माण सामाग्री प्रयोग गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष बलदेव सोनाहाले स्वीकार गरेका छन् । उनले भने, ‘लकडाउन सुरु भए पछि सामाग्रीको मुल्य बढ्यो । त्यसैले केही घरमा १ नम्बर इटाको सट्टा २ नम्बरको इट्टा र पीपीसी सिमेन्टको ठाउँमा ओपिसी सिमेन्ट प्रयोग गर्नु परेको हो ।’ मापदण्ड अनुसार घर निर्माण नभएपनि गेरुवा गाउँपालिकाले भने उपभोक्ता समितिलाई रकम भुक्तानी दिइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्