छुटे भिआइपी जुवाडे



बाँसगढी ।

बर्दियाको बाँसगढीबाट गत बैशाख महिनामा पक्राउ परेका भिआइपी जुवाडेहरु आइतबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाले उनीहरु सातै जनालाई धरौटीमा रिहा गरेको हो । गत बैशाख ४ गते बाँसगढीमा रहेको अतिथी होटलमा प्रहरीले छापा मारेर यस क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा अथिती होटलका सञ्चालक नरबहादुर ओली, बाँकेको बैजनाथमा नीजि विद्यालय सञ्चालन चलाउने श्याम कुँवर, नेपाली काँग्रेसका नेता सोदे बिष्ट, बाँसगढी ५ का सुरेश रेग्मी, बढैयाताल गाउँपालिका ७ का श्रीकृष्ण गिरी, कोहलपुरका पुरन गिरी र शिशिर गिरी पक्राउ परेका थिए । उनीहरुलाई जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

उनीहरुको साथबाट ५ लाख ६० हजार ९० रुपैयाँ समेत बरामद गरिएको थियो । सातै जना जुवाडेलाई एक दिन इलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतमा राखिएपछि कोरोना कहरका कारणले बाँसगढीका नगर प्रमुख सालिकराम अधिकारीको रोहबरमा छोडिएको थियो । उनीहरुलाई आइतबार फेरी बाँसगढी प्रहरीले प्रशासन कार्यालयमा उपस्थिती गराएको हो । जुवा अपराधमा पहिलो पटक पक्राउ पर्नेहरुको हकमा ३० हजार जरिवाना र ३ महिना कैदको व्यवस्था रहेको छ । पक्राउ परेका अधिकांशहरु भने पटक पटक पक्राउ परिसकेका व्यक्ति हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २२ गते सोमबार