यतिवेला नोवेल कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण विश्व नै संकटपूर्ण अवस्थामा गुज्रिरहेको छ । चीनको वुहानमा सन् २०१९ को डिसेम्बरमा देखिएको कोभिड–१९ ले अहिले विश्वमै महामारीको रुप लिएको छ । यसको रोकथाम तथा नियन्त्रणमा विश्व नै होमिएको अवस्था छ । भाइरसका विरुद्ध लड्न संसार नै एकजुट भएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका देशहरुले लकडाउनदेखि अन्य विशेष सावधानी अपनाउँदै आएका छन् । नेपालले पनि कोरोना भाइरस भित्रन नदिन विशेष सावधानी अपनाएको छ तर पनि कोभिड–१९ को संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । पछिल्लो समय नेपालमा पनि संक्रमणको उच्च जोखिम बढेको छ भने संक्रमितको संख्या पनि दिनप्रति दिन बढिरहेको छ ।
मृत्यु हुनेको दर पनि बढ्न थालेको छ । यसले गर्दा मानविय जीवन त्रसित बनेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यति वेला संघीय, प्रदेश र स्थानीय तहका सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको छ । भाइरस विरुद्धमा स्थानीय सरकार त झनै शसक्त भएर युद्ध स्तरमा लागेका छन् । बर्दियामा पनि संक्रमणको उच्च जोखिमसँगै संक्रमितहरुको संख्या दिनानुदिन बढ्दो छ । बर्दिया जिल्लामा रहेका ८ स्थानीय तह मध्ये बाँसगढी नगरपालिका पनि कोरोना भाइरस विरुद्ध सुरुवाती अवस्थादेखि नै शसक्त रुपमा लागेको थियोे । नगरपालिकाले नगर क्षेत्रभित्र कोरोना भाइरस भित्रन नदिई नगरबासीहरुलाई सुरक्षित राख्ने दिशातर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको थियो । सुरुदेखि नै भाइरस विरुद्ध लड्न र सचेतनाको लागि नगरमा उपलब्ध राजनीतिक दलका प्रतिनिधि, समाजसेबी, बुद्धिजिबी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतसंग छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बढावा दिएको छ ।
नगरपालिकाले कोरोना भाइरसका बारेमा आमनागरिकहरुलाई जानकारी नभएकाले आमनागरिकको जानकारीको लागि कोरोना भाइरस, यसको लक्षण, बच्ने उपाय र अपनाउनु पर्ने सावनधानीका बारेमा विभिन्न पर्चा पम्पेलेट, अडियो जिंगलहरु मार्फत प्रचार प्रसारलाई तिव्र पारेको थियो । कोरोना संक्रमण रोकथामतथा नियन्त्रणका लागि बाँसगढी नगरपालिकाले नगर प्रमुख सालिकराम अधिकारी संयोजक रहेको नगर स्तरीय विपत् व्यवस्थापन समितिको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको थियो । बैठकको निर्णय अनुसार सर्बपक्षिक छलफल, अन्तरक्रिया र गोष्ठि मार्फत आइपर्ने संकट सामाना गर्न विभिन्न समितिहरु निर्माण गरिएको थियो । नेपाल सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेसँगै नगरपालिकालाई थप चुनौति थपियो ।
सरकारद्धारा लकडाउन घोषणासँगै बजारमा सम्भावित महंगी, कालोबजारी रोक्न बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै तिव्रता दिएको थियो । बाँसगढी नगरपालिकामा रहेका मोतिपुर, वेलवा र डेउढाकला स्वास्थ्यचौकी र सिमानाकाहरुमा थप हेल्थ डेक्ससँगै सिमा नाका हँुदै बाँसगढी क्षेत्रमा भित्र्नेहरुमा कडाई गरेको थियो । बाँसगढी क्षेत्रमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बिशेष गरी निर्वाचित जनप्रतिनिधिहरु अहोरात्र खटिएका छन् । जनताका समस्यासँग प्रत्येक नजिक रहेका वडा अध्यक्ष, वडा सदस्यहरु थप सक्रिय बनेका छन् । लकडाउनलाई प्रभावकारी बनाउनेदेखि टोल तथा गाँउगाँउमा सचेतना जगाउन जनप्रतिनिधिहरुको भूमिका विशेष देखिएको छ । सरकारले जारी गरेको बन्दाबन्दी थपिदै जाँदा जीविको पार्जनका माध्यमहरु प्रभावित बनेकाले भोकमरी हुन नदिन नगरपालिकाले अतिविपन्न तथा दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारहरुको पहिचान गरी राहत वितरण गरेको छ ।
बाँसगढी नगरपालिकाले नगरका ९ वडामा रहेका लकडाउनबाट प्रभावित अतिविपन्न परिवारहरुको पहिचान गरी राहत वितरण गरेको
छ । नगरका सबै वडामा गरी नगरपालिकाले झण्डै २ हजार बढी परिवारलाई राहत वितरण गरेको छ । पछिल्लो समय संक्रमित मुलुक भारत लगायत तेस्रो मुलकबाट फर्किएका नागरिकहरुलाई पहिचान गर्ने, सम्भावित संक्रमणलाई रोक्न क्वारेन्टिन र आइसोलेसनमा राख्ने, संक्रमण देखिएमा उनीहरुको उपचारमा भूमिका खेल्न नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन । विश्वमहामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावसँगै बन्दाबन्दी सुरु हुनु अगाबै विभिन्न मुलुकबाट आएका ४२ जना, नेपालका विभिन्न स्थानहरुबाट ९ सय ७२ जना र भारत लगायत तेस्रो मुलुकबाट आएका १ हजार ३ सय ८६ व्यक्तिहरु बाँसगढी नगरपालिकामा भित्रिएका छन् । बाँसगढी नगरपालिकामा भित्रिएका व्यक्तिहरुको जीवन रक्षा तथा स्वास्थ्य सुरक्षाका लागि विभिन्न २० वटा सामुदायिक विद्यालयहरु प्रयोग गरी क्वारेन्टिनको व्यवस्थापन गरिएको छ ।
क्वारेन्टिनमा रहेका व्यक्तिहरुको बसाई तथा खानाको व्यवस्थापन, स्वास्थ्य परीक्षण र परीक्षण पश्चात सृजित परिमाणका आधारमा उनीहरुको व्यवस्थापन नगरपालिकाले गरेको छ । कोभिड–१९ को परीक्षणबाट पोजेटिभ देखिएका व्यक्तिहरुको लागि उपलब्ध स्रोतको आधारमा बाँसगढी नगरपालिकाको पहलमा २ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको छ । बाँसगढी नगरपालिकामा २१ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ५ जनालाई बाँसगढी नगरपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा राखिएको छ । नगरपालिकामा ५ जनाबाहेक अन्य सबै संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । नगरपालिकाले हालसम्म झण्डै ७ सय बढीको आरडीटी विधिबाट दु्रत परीक्षण गरेको छ भने ३ सय बढीको पीसीआर परीक्षणको लागि नमुना संकलन गरिसकेको छ । नगरपालिकाले क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन सेन्टर र राहत वितरणको खर्च बढ्दै गएपछि अन्य शीर्षकमा विनियोजन बजेट समेत रकमान्तर गरेको छ । बाँसगढी नगरपालिकाले क्वारेन्टिन व्यवस्थापन र आइसोलेसन सेन्टरमा बढी खर्च गरेको छ ।
खर्च धेरै देखिएपछि नगरमा विभिन्न शीर्षकको ४९ लाख बजेट कोभिड–१९ कोषमा रकमान्तर गरिएको छ । बाँसगढी नगरपालिकाले अघिल्लो वर्षको विपत् व्यवस्थापन कोषको रकम १० लाख, यस वर्षको १० लाख, सहयोगी दाताहरुबाट प्राप्त भएको झण्डै १९ लाख, प्रदेश सरकारबाट प्राप्त भएको १५ लाख र विभिन्न शीर्षकबाट रकमान्तर गरी ४९ लाख रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेको छ । कोषमा जम्मा भएको रकम मध्ये नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ६८ लाख बढी बजेट खर्च गरिसकेको छ । महामारीको सामना कहिलेसम्म गर्नु पर्ने हो भन्ने यकिन समेत नभएको अवस्थामा कोरोना महामारीको सामना गर्नको लागि पनि आगामी वर्षको लागि नगरपालिकाले झण्डै १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको बन्दाबन्दीका कारण मानिसहरुमा त्रास उत्पन्न हुनुका साथै आफ्ना दैनिक कामहरु समेत सम्पादन गर्न असहज भएको अवस्था छ ।
यस असहज परिस्थितिलाई सामना गर्न र थप संक्रमण फैलिन नदिन महामारीमाथि बिजय प्राप्तगर्न अझ बढी सतर्कता अपनाउने योजना बनाएको छ । महामारीबाट हुने क्षतिको पूर्ति त आगामी दिनमा हुन सक्छ, तर अमुल्य मानव जीवनको पुनःप्राप्ति क्षति पूर्ति हुन सक्दैन । त्यसैले यतिखेर मानव जीवनको रक्षा र संरक्षण हरेक क्षेत्रको कर्तव्य बनेको छ । सोही अनुरुप बाँसगढी नगरपालिकाका सम्पूर्ण नगरबासीहरुको जीवन रक्षाका लागि हरसम्भव प्रयास गरेको छ । नगरपालिकाले कोभिड–१९ को संक्रमणलाई क्रमशः रोकथाम तथा नियन्त्रण गर्न क्वारेन्टिन व्यवस्थापन, परिक्षणलाई थप प्रभावकारी, आइसोलेसन तथा उपचारका लागि आवश्यक व्यवस्था गर्नुका साथै आवश्यकताका आधारमा थप रणनीति र कार्ययोजना तयार गरी विशेष कार्यक्रम सञ्चालन गर्ने आमागी वर्षको नीति तथा कार्यक्रममै उल्लेख गरेको छ । त्यस्तै महामारीका कारण रोजगारी गुमाएका तथा बेरोजगार एवं श्रमिक, साना किसान, गरिब, विपन्न वर्ग लक्षित गरी सीप विकास तालिम र रोजगारी तथा आयआर्जनका लागि कृषि तथा निर्माण क्षेत्रमा रोजगार अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख छ । नगरपालिकाले हालसम्म कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरेका प्रयासहरु सबै सह्रानीय नै छन् ।
कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन थपिदै छन् । संक्रमणको उच्चजोखिमको बिचमा पनि मानवीय जीवनलाई सहज बनाउनु पर्ने बाध्यता पनि छन् । तर पछिल्लो समय उच्च सतर्कता अपनाउने समयमा सरकारले लकडाउनलाई थप खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनेसँगै सरकारी कार्यालयहरु वा सार्वजनिक सेवाका काम सुचारु भएका छन् भने व्यापार व्यवसायहरु पनि खुल्न थालेका छन् । बजार तथा सार्वजनिक स्थलहरुमा मानिसहरुको भिड बढ्न थालेको छ । यस्तो अवस्थामा नगरबासीहरुमा थप संक्रमण फैलन नदिन पनि नगरपालिकाको बिशेष ध्यान केन्द्रित हुन आवश्यक देखिएको छ । यसो गर्दा नागरिकहरुले पनि स्वास्थ्य सुरक्षाको अनुभूति गर्ने छन् ।










प्रतिक्रिया दिनुहोस्