तीन पालिकामा सातको मृत्यु



शुभाकर विश्वकर्मा । कोहलपुर ।

विगत एक सातामा बाँकेको कोहलपुर, राप्तीसोनारी र बैजनाथमा सात जनाले विभिन्न कारणले ज्यान गुमाएका छन् । तीन वटै पालिकामा विभिन्न कारणले सात जनाले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा कोरोना संक्रमण, दुर्घटना, हत्यादेखि करेन्ट लागेकासम्म छन् । ती मध्ये अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ६ की एक ४६ वर्षीय महिलाको ज्यान गएको हो । उनको सोमबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी जेष्ठ ३० गते दायाँ फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

उनको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै बुधबार विहान राप्तीसोनारी –८ स्थित चंपाई नाला नजिकै रहेको पुलमुनि नदि किनारमा एक जना मृत अवस्थामा भेटिएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरले उनको परिचय नखुलेको र शवको प्रकृति हेर्दा केही दिन अघि नै मृत्यु भएको हुनसक्ने जनाएको छ । ती पुरुषको मृत्युको कारण खुलेको छैन । मंगलबार मात्रै कोहलपुर ११ मा एक जनाको करेन्ट लागेर मृत्यु भएको थियो । कोहलपुरको टाउन प्लानिङ क्षेत्रमा विद्युतीकरणको काम गर्ने क्रममा पोलमा चढेका बेला करेन्ट लागेर कोहलपुर ११ का शशिराम चौधरी मृत्यु भएको हो । उनी नेपाल ईन्जिनियरिङ एण्ड कन्ट्रक्सन प्रा.लि.मा कार्यरत थिए ।

सोमबार राप्तीसोनारी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परि दुई जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–३ का २६ वर्षीय चुर्णबहादुर चौधरी र २० वर्षीय ट्याक्टर चालक सुनिल चौधरी रहेका छन् । सोमबार नै राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ मा एक पुरुष मृत अवस्थामा फेला परेका थिए । ६५ वर्षीय पुलुराम थारु मृत अवस्थामा घरमा नै फेला परेको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ । स्थानीयहरुले भने उनको छोराले नै हत्या गरेका बताएको प्रहरीले जनाएको छ ।

आरोपित छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए । यता जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार जेष्ठ ३२ गते कोहलपुर–४ किरणनालामा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमै ज्यान गएको थियो । मोटरसाइकलको ठक्करबाट कोहलपुर नगरपालिका–१२ की ३५ वर्षीय ज्ञानरानी थारुको मृत्यु भएको हो । जेष्ठ २७ गतेदेखि बुधबार सम्म जम्मा ६ वटा दुर्घटनामा ५ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार ४ गते बिहीबार