कोहलपुरका व्यवसायी आन्दोलनमा, नगरपालिका र बाणिज्य संघमा ज्ञापनपत्र बुझाइयो



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेका एक दर्जन व्यवसायी संघ संगठनहरुले सरकारले घरभाडा, कर, बैँक ब्याज लगायतमा छुट तथा मिनाह व्यवस्था नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहिबार एक दर्जन व्यवसायी संघ संगठनहरुद्वारा कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलाई ज्ञापनपत्र बुझाउँदै उक्त चेतावनी दिएका हुन् । कोहलपुरका व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको ज्ञापन पत्र बुझाउने कार्यक्रम कोणसभामा परिणत भई समापन भएको थियो ।

कोणसभालाई कोहलपुरका व्यवसायी नेता एवं कोहलपुर उद्योग वाणिज्य संघका संस्थापक विष्णु प्रसाद खनालले सम्बोधन गरे । सम्बोधनका क्रममा खनालले व्यापारीका यी सामान्य माग पुरा नभए चरणबद्ध रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । नगरपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समिति, होटल व्यवसायी संघ बाँके कोहलपुर, अटो एसोसिएसन बाँके कोहलपुर, जुत्ताचप्पल व्यवसायी संघ कोहलपुर, कपडा व्यवसायी संघ कोहलपुर, नेपाल घर बहाल उपभोक्ता मंच बाँके, बाँके सुनचाँदी तथा गहना व्यवसायी, कोहलपुर वितरक संघ, ईलेट्रोनिक्स तथा मोबाइल र बिजुली व्यवसायी संघ बाँके लगायतका संघ संस्थाको अगुवाईमा ज्ञापनपत्र बुझाइएको थियो ।

प्रजातान्त्रीक संघको ध्यानकर्षण पत्र

बिहिबार नै प्रजातान्त्रीक उद्योग व्यवसायी संघ कोहलपुरले ध्यानाकर्षण पत्र जारी गरी उद्योगी व्यवसायीहरुको समस्या तत्काल समाधान गर्न माग गरेको छ । ध्यानकर्षण पत्रमा बैँक ब्याज, घरभाडा व्यवसायी कर छुट, लकडाउनको अवधीभर बैँक ब्याज मिनाह, लकडाउनको अवधीको कारोबारो अवधीको म्याद थप गर्ने पहल, घर बहाल कर छुट, व्यवसायीक सटरहरुको भाडामा छुट पहल गर्नुपर्ने माग गरेको छ । ध्यानाकर्षण पत्रमा प्रजातान्त्रीक व्यवसायी संघ जिल्ला कार्य समितीका सहसचिव लक्ष्मणराज पौडेल र प्रजातान्त्रीक उद्योग व्यवसायी संघका संयोजक मातृका सापकोटाद्वारा हस्ताक्षर गरेका छन् । उनीहरुले कोहलपुर उद्योग बाणिज्य संघलाई ध्यानकर्षण पत्र बुझाएका हुन् ।

घरभाडा छुटको माग

होटल व्यवसायी संघ बाँके कोहलपुरले यस क्षेत्रका सम्पूर्ण घरधनीहरुलाई लकडाउन अवधिभरको भाडा छुट गरिदिन माग गरेको छ । कोरोना भाइरस महामारीका कारण देशभर झै कोहलपुरमा समेत होटल व्यवसाय ठप्प अवस्थामा रहेको र कतिपय होटल व्यवसाय भाडामा लिएर सञ्चालन गरिएका कारण लकडाउन अवधिभरको भाडा छुट गरिदिन घरधनीहरुलाई माग गरेको हो । यस्तै कोरोनाका कारण सबै भन्दा ठूलो मार यस क्षेत्रमा परेको भन्दै आगामी दिनमा समेत होटल व्यवसायलाई बचाइ राख्नको लागि नेपाल सरकार, प्रदेश र स्थानीय सरकारलाई विभिन्न माग सहित अनुरोध गरिएको छ ।

‘भाडामा व्यवसाय सञ्चालन गरिरहेका र लकडाउनको अवधिमा बन्द अवस्थामा रहेकाहरुको भाडा छुट गर्नको घरधनीहरुलाई आग्रह गर्दछांै, बैंक व्याज, किस्ता, विद्युत महशुल छुट दिने व्यवस्था मिलाई दिन नेपाल सरकार र स्थानीय सरकारलाई माग गर्दछौ’ होटल व्यवसायी संघ बाँके कोहलपुरका अध्यक्ष एकनारायण चापागाई र महासचिव खेमराज शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । यसैगरि संघले होटल व्यवसायी संघ बाँके कोहलपुरको क्षेत्राधिकार भित्र पर्ने होटलहरुलाई आवश्यक परेको खण्डमा आपसी सहमति र सहकार्यका आधारमा क्वारेन्टिन निर्माणको लागि सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २३ गते शुक्रबार