12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

कोरोना परीक्षण बढाउन काँग्रेसको माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २३, २०७७  

कोहलपुर ।

५ नम्बर प्रदेशको नेपालगञ्जमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ । एकैदिन १५ जनामा कोरोना संक्रमण भेटिएपछि जोखिम बढेको भन्दै तत्काल परीक्षणको दायरा बढाउनको लागि सरकारसँग माग गरिएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार यस बारेमा सरकारलाई ध्यानाकर्षण गराइएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर बाँकेमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग गरिएको काँग्रेस संददीय दलले जारी परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दलकोतर्फ प्रमुख सचेतक खाँणले मन्त्री ढकाललाई टेलिफोन गरि छिटो भन्दा छिटो प्रक्रिया थालेर स्वास्थ्य सम्बन्धि आवश्यक सामग्री र जनशक्ति पठाउन आग्रह गरिएको जानकारी दिए । यस्तै १६ जना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्न र तुरुन्त परीक्षण गरिनुपर्ने आफ्नो पार्टीको माग रहेको बताइएको छ ।

जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री अभाव भएका स्थानहरूमा यथाशीघ्र पठाइने बताएको कांग्रेस संसदीय दलले जनाएको छ । नेपालगञ्जमा पहिलो पटक बैशाख १९ गते एक ६० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २३, २०७७     7:55:57 AM  |