४ सय ९३ घरधुरीले बाँसगढीमा पाए राहत



बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकाले नगर क्षेत्रका ४ सय ९३ वटा घरधुरीलाई राहत वितरण गरेको छ । कोरोना भाइरसका कारण सरकारले आह्वान गरेको लकडाउनका कारण समस्यामा परेका स्थानीयहरुलाई राहत वितरण गरिएको हो । नगरपालिका वडा नम्बर १ देखि ९ सम्म केही वडामा सकिएको र केही वडामा जारी रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार वडा नम्बर १ मा १७, वडा नम्बर २ मा २६, वडा नम्बर ३ मा ७६ र वडा नम्बर ४ मा ८० वटा घरधुरीलाई अहिले सम्म राहत वितरण गरिएको छ । वडा नम्बर ५ मा ५७, वडा नम्बर ६ मा ४०, वडा नम्बर ७ मा ४३ र वडा नम्बर ९ मा ४९ वटा घर धुरीलाई वितरण गरिएको छ । नगरप्रमुख सालिकराम अधिकारीका अनुसार यी सबै वडामा राहत वितरा जारी छ भने वडा नम्बर ८ मा राहत वितरण गरेर सकिएको छ ।

वडा नम्बर ८ मा मात्रै १ सय ९ वटा घरधुरीलाई राहत वितरण गरिएको उनले जानकारी दिए । ‘नगरपालिकाका सबै वडामा जनप्रतिनिधि र सरोकारवाला निकायको स्थलगत अनुगमन पछि राहत वितरण गरिएको हो’ नगर प्रमुख अधिकारीले भने, ‘आगामी दिनमा पनि वास्तविक समस्याको पहिचान गरेर मात्र हामी राहत प्रदान गर्नेछौ ।’ कोरोना भाइरस संक्रमण रोक्न र लकडाउनको समयमा समस्यामा परेका नागरिकलाई सहयोगमा कुनै कमि नहुने उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २९ गते शनिबार