30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

मुख्य राजमार्गमै ताल, सवारी र यात्रुको बेहाल !

यानबी साहु
प्रकाशित मितिः मङ्लबार, चैत्र ४, २०७६  

कोहलपुर/  दैनिक सयौँ सवारी साधन आवागमन हुने पूर्व–पश्चिम महेन्द्र राजमार्गको कोहलपुर–रोहिनी खोला सडक खण्ड जीर्ण बन्दै गएको छ । उचित मर्मत सम्भार र सरोकारवालाको बेवास्ताका कारण करिब दुई सय मिटर सडकखण्ड दिन प्रतिदिन जीर्ण बन्दै गएको हो । गत आर्थिक वर्ष २०७५÷०७६ मा सडक डिभिजन कार्यालयले ठेकेदार मार्फत मर्मत गरेको कोहलपुर–रोहिनी खोला सडकखण्ड मर्मत गरेको केही महिनामा नै कालोपत्रे उप्किएको स्थानीयहरु बताउँछन् । कालोपत्रे उप्किएपछि पटकपटक आग्रह गर्दा त्यसलाई सडक डिभिजन कार्यालयले मर्मत गरिदिएको र असारमा पानी परेर चिसो भएका कारण त्यो पनि उप्किएको उनीहरुको भनाई छ । मुख्य राजमर्ग कै सडक जीर्ण बन्दै गएपछि अहिले उक्त सडकखण्ड भएर चल्नै सवारी साधन यात्रुहरुलाई आवागमनमा सास्ती हुने गरेको छ । कोहलपुर नगरपालिका वडा नं.१२ र १३ को सिमानामा पर्ने मुख्य राजमार्ग कै अवस्था दयनीय बन्दै गएपछि दुर्घटनाको जोखिम समेत बढेको छ । ज्ञानज्योति मावि नजिकैको पुलदेखि भ्युटावर सम्मको सडकखण्डको बीच भागमा ठाउँ ठाउँमा कालोपत्र उप्किएको छ । कालोपत्रे उप्किएका कारण सडकको छेउछाउ र बीचमा गरी दर्जन बढी ठूल्ठूला खाल्डाखुल्डीहरु छन् । ती खाल्डाहरु केही दिनअघि परेको पानीका कारण सडक नै नदेखिने गरी वारीदेखि पारीसम्म जलमग्न भएका हुन् । उक्त सडकमा जताजतै खाल्डाखुल्डी मात्रै होइन पानी जमेर ताल नै बनेको छ । त्यो दृश्य देख्ने जो कोहीलाई सायद लाग्न सक्छ यो सडक हो या भैसी आहाल खेल्ने ठाउँ । सडकको दुरावस्था देख्दा सजिलै अनुमान गर्न सकिन्छ । स्थानीय दशरथ पराजुलीले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण सास्ती भोग्नु परेको बताए । उनका अनुसार ठेकेदार र कार्यालयले ध्यान नदिएका कारण समस्या हो । ‘२ वर्ष अघि बनाइएको थियो, दुई दिन मै भत्क्यो, त्यपछि बनाउन लगाइयो त्यो पनि भत्कियो’ स्थानीय पराजुलीले भने, ‘त्यसपछि सबै स्थानीय मिलेर बारम्बार अनुरोध गर्दै आएका छौ,तर माग सम्बोधन हुन सकेको छैन ।’रोहिणी खोला टोल सुधार समितिले भने बारम्बार डेलिकेसनमा जाँदा समेत मागको सुनुवाई नहुन नसकेको जनाएको छ ।

समितिका सचिव महेन्द्र पौडेलले जीर्ण बन्दै गएको सडक मर्मत गरिदिन डिभिजन सडक कार्यालयलाई पटकपटक आग्रह गर्दा समेत आश्वासन मात्रै दिने गरेको गुनासो गरे । उनले जीर्ण बन्दै गएको सडकका कारण धुँवा, धुलो, हिलोले गर्दा दुर्घटनाको उच्च जोखिम रहेको बताए । सचिव पौडेलले पछिल्लो समय विगत ६ महिना देखि कार्यालय मै सडक मर्मतको लागि कार्यालयमा जादाँ समेत अझै सम्म प्रक्रिया नबढेकोले निकै ठूलो समस्या भएको जानकारी दिए । ‘पहिले त पीच मात्रै उप्केको थियो, पछि खाल्डा हुँदै गएपछि सडक नै ताल बनेको छ ’ उनले भने, ‘सवारी र यात्रुको बेहाल हुने गरेको छ । दुर्घटनाको उच्च जोखिम छ, यहाँका स्थानीयले झन सास्ती खेप्नु परेको अवस्था छ ।’सडकको यस्तो दुरावस्थाका कारण दैनिक ओहोरदोहर गर्ने साना ठूला सवारी साधनहरुलाई सास्ती हुने गरेको छ । बीच सडकमै खाल्डा भएका कारण गाडीका इन्जिनहरुमा ठोकिने र छिटै बिग्रने गरेको सवारी चालकहरुले बताएका छन् । दिन रात चौबिसै घण्टा व्यस्त हुने उक्त राजमार्गमा साईकलदेखि झण्डावाला गाडीहरु समेत आवागमन गर्छन् तर त्यसको उचित मर्मत सम्भारतर्फ भने कसैको चासो देखिँदैन । उक्त सडकमा लामो समय देखि गाडी चलाउदै आएका धनवीर पुनले केही महिला देखि उक्त सडकमा निकै जोखिमका साथ यात्रा गर्नु पर्ने अवस्था रहेको बताए । त्यस्तै घाममा धुलाम्मे र पानीमा हिलाम्मे हुने कारण समस्या हुने गरेको उनको भनाई छ । यसैगरी आसपासका नागरिक र बाटोमा हिडडुल गर्ने पैदल यात्रीहरुलाई समेत प्रत्यक्ष असर पर्ने गरेको छ । अहिले सम्म तीन वटा भन्दा बढी सवारी दुर्घटनामा परिसकेको समितिका सचिव पौडेलले बताए । सडकमा रहेको हिलो र धुलोका कारण नजिकै रहेको रोहिणी खोला बजार क्षेत्रका व्यवसायीहरुको व्यसवाय सञ्चालनमा समेत समस्या हुने गरेको छ । यता सडक डिभिजन कार्यालय नेपालगञ्ज बाँकेका प्रमुख राम कुमार देवले रोहिणी खोला सडक खण्डका विषयमा स्थानीयले कार्यालयमा गुनासो गरेको बताए । त्यहाँको समस्यालाई मध्यनजर गर्दै ठेक्का समेत स्विकृत भइसकेको उनले बताए । प्रमुख देवका अनुसार निर्माण कार्यको लागि तयारी अवस्थामा रहेपनि मौषम प्रतिकुलताका कारण काम हुन सकेको छैन । सडकका खाल्डा पुर्नु पर्ने र चिसोमा कालोपत्रे गर्दा दिगो नहुने हुँदा मौषम सफा हुन वित्तिकै ठेकेदारलाई ताकेता लगाएरै काम गर्न लगाउने उनको भनाई छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ४, २०७६     11:37:03 AM  |