बाँसगढी, बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिकाले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षक र कर्मचारीलाई सम्मान गर्ने भएको छ । बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले नगरपालिकामा कार्यरत शिक्षक र कर्मचारीहरुलाई सम्मान गर्न लागिएको जानकारी दिए । ‘संविधान दिवसको अवसरमा नगरपालिका अन्तरर्गतका शिक्षक र कर्मचारीहरु सम्मान गरिने छ’ उनले भने, ‘त्यसको लागि अहिले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक कर्मचारीको तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।’
सरकारी जागिर खाने कर्मचारीका छोरीछोरी समेत सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने बहस् चलिरहेका बेला बाँसगढी नगरपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने आफ्ना शिक्षक कर्मचारीलाई सम्मान गर्न लागेको हो । ‘हामिले एकदमै नयाँ काम गर्न लागेका हौं’ नगर शिक्षा शाखा प्रमुख रेग्मीले भने, ‘यसले गर्दा सामुदायिक विद्यालयलाई हेर्ने नजर केही भएपनी फरक पर्नेछ ।’ यसले केही मात्रामा भएपनी सामुदायिक विद्यालयमा अभिभावकहरुको आकर्षण बढ्ने शिक्षाविद् बताउछन् । सरकारी शिक्षक कर्मचारीहरु समेत सरकारी विद्यालयमा छोराछोरी पढाउछन् भन्ने बुझेमा अभिभावकहरुले समेत आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढ्न पठाउनसक्ने उनीहरुको भनाई रहेको छ । नगर शिक्षा शाखाले सोमबारसम्म नगरपालिका अन्तरर्गतका सरकारी विद्यालयमा छोराछोरी पढाउने ५२ जना शिक्षक कर्मचारीको नाम संकलन गरिसकेको छ । सामुदायिक विद्यालयमा छोराछोरी पढाउने कोही शिक्षक कर्मचारी छुटेको भए नाम टिपाउन नगर शिक्षा शाखाले आग्रह गरेको छ ।
बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले सामुदायिक विद्यालयमा सबैको आकर्षण होस् भन्ने उद्वेश्यले यस्तो कार्यक्रम गर्न लागिएको बताए । ‘हाम्रा सामुदायिक विद्यालयहरु पनी संस्थागत विद्यालय भन्दा कम छैनन्’ उनले भने, ‘सरकारले सामुदायिक विद्यालयमा लगानी बढाएपनी विद्यार्थीको आकर्षण कम रहेको छ ।’ नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्नको लागि लगानी बढाइरहेको उनले जानकारी दिए । सोमबारसम्म संकलन गरिएको तथ्यांक अनुसार तल्लो तहमा कार्यरत कर्मचारीहरुले मात्र आफ्ना छोराछोरी सामुदायिक विद्यालय पढाउने गरेको देखिन्छ । संस्थागत विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरुको होडबाजी चलिरहेको अवस्थामा बाँसगढी नगरपालिकाले गर्न लागेको सम्मानलाई स्थानीयहरुले भने सकारात्मक रुपमा लिएका छन् ।
पछिल्लो समय राष्ट्रीय रुपमा नै सरकारी तलब भत्ता खानेका छोराछोरी सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने मापदण्ड बनाइनुपर्ने आवाज उठेको थियो । सरकारी विद्यालयमा नैे पढाउने शिक्षकहरुले समेत सामुदायिक विद्यालय भन्दा पनी महंगा संस्थागत विद्यालयहरुमा नै छोराछोरीहरुलाई पढाउने गरेका छन् । सरकारी विद्यालयमा छोराछोरी पढाउने शिक्षक तथा कर्मचारीहरुलाई असोज ३ गते संविधान दिवसको अवसरमा हुने भव्य कार्यक्रममा बाँसगढी नगरपालिकाले सम्मान गर्ने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्