8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

अनलाईनसिस्टमले दोहोरो झन्झट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन २९, २०७६  

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर, १० काक्रेविहार टोलका धनराज शाही जग्गा नामसारीका लागि करिब दुईहप्तासम्म लगातार मालपोत कार्यालय धाए । उनले जग्गा नामसारीका लागि सबै प्रक्रियापनि पुरा गरे । तर समयमै सेवा भने पाएनन् । सेवाग्राही प्रमोद कठायत मालपोतका कर्मचारीको ढिलासुस्ती र काममा अन्यौलताले सेवा लिन सास्ती हुने गरेको बताउँछन् । उनीजस्तै दैनिक सेवा लिन मालपोत कार्यालय धाउने सँयौ सेवाग्राहीले समयमै सेवा नपाएको गुनासो गरेका हुन् ।

मालपोत कार्यालय सुर्खेतले एक बर्षयता हस्त लिखित तथा अनलाईन सिस्टम दुई माध्यमबाट काम गर्न थालेपछि सेवा लिँदा दोहोरो झन्झट हुने गरेको हो । एउटै काम लिखित र अनलाईन सिस्टममा दुई पटक गर्नुपर्दा काममा ढिलाई हुने गरेको कार्यालय प्रमुख लक्ष्मी खत्रिले बताईन् । ‘एउटै काम दुई पटक गर्नुपर्छ, सेवाग्राही चाँडो गर्न दबाव दिन्छन्, यसले कर्मचारीलाई समेत तनाब हुन्छ’ उनले भनिन्, ‘कतिपय ढिलै सेवा दिनुपर्ने प्रकृतिका काम हुन्छन्, तर सेवाग्राही बुझ्दैनन् ।’ उनका अनुसार लिखित र अनलाईन सिस्टममा एउटै काम दुई पटक गर्नुपर्दा समय समेत धेरै लाग्छ ।

नयाँ आउने कर्मचारीहरु सुरुसुरुमा अनलाईन सिस्टममा काम गर्न नजान्ने भएकाले पनि दक्षजनशक्तिको अभावले काममा ढिलाई हुने गरेको मालपोत अधिकृत लक्ष्मीकुमार विकले स्विकार्य । उनले भने, ‘काममा कर्मचारीलाई तनाब र सेवाग्राहीले सास्ती अनुभुति गर्छन्, तर लिखित र अनलाईन सिस्टमबाट दुई पटक काम गर्दा कागजात हराउने र कृते हुने समस्या हुँदेन ।’

जिल्ला मालपोत कार्यालय सुर्खेतसँगै कर्णाली प्रदेशका सबै जिल्ला मालपोत कार्यालयमा लागु भएको अनलाईन सिस्टमले सेवाग्राहीलाई सेवा लिँदा दोहोरो झन्झट भएको हो । सल्यानका सेवाग्राही मालपोत कार्यालयमा सेवा लिन जाँदा अनलाईन सिस्टमले काम नगर्दा हप्तौँसम्म सदरमुकाम बस्नुपर्ने बाध्यता छ । ‘विषयगत शाखाका सबै कर्मचारी अनलाईन सिस्टममा काम गर्न जान्दैनन’ कर्मचारी दिपक बुढाथोकीले भने, ‘झन् त नयाँ र कम्युटर राम्रोसँग नजान्ने कर्मचारीलाई काममा तनाब हुन्छ ।’

डाटा ईन्ट्रीगर्ने क्रममा नजान्दा कतिपय अवस्थामा कम्पयुटरबाट डाटानै हराउने गरेकाले पनि पुनः उही काम गर्नुपर्दा काममा ढिलाई हुने गरेको जुम्ला मालपोत कार्यालयले जनाएको छ । सेवाग्राही पुर्णराज गिरीले भने, ‘अहिलेको अनलाईन सिस्टमभन्दा बरु पहिलेकै लिखित सिस्टम ठिक थियो ।’

प्रकाशित मितिः बुधबार, साउन २९, २०७६     8:18:14 AM  |