धानखेतीको विकास र विस्तार गरिने



बर्दिया/  कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बर्दियामा धानखेतीको विकास र विस्तार गरिने बताएका छन् ।

बुढान सहकारी संस्था लिमिटेड र अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रले आयोजना गरेको धान उत्पादन प्रशोधन तथा बजारीकरणसम्बन्धी कार्यक्रममा उनले बर्दियाका आदिवासी थारू जाति कृषिमा सफल भएका कारण पनि धानखेती सहज हुने बताएका हुन् ।

राजापुरलाई धान सुपरजोनका रुपमा विकास गरिएको बताउँदै मन्त्री खनालले बारबर्दियालगायतको क्षेत्रलाई पनि बास्नादार र मसिनो धान उत्पादन गरिने क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले जग्गाको चक्लाबन्दी गरी कृषिमा आधुनिक प्रविधि भित्र्याएर कम लागतमा बढी मुनाफा हुने कृषि व्यवसाय गर्न गराउन उक्त सहकारी संस्थालाई सुझाव दिए ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्रको सहयोगमा बुढान कृषक बहुउद्देश्य सहकारी संस्था मसिनो, लामो र बास्नादार धान उत्पादन, प्रशोधन र बजारीकरण गर्नका लागि अगाडि बढेको संस्थाका अध्यक्ष नवराज सुवेदीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १८ गते आइतबार