3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

‘सुविधा सम्पन्न भवन र सभाहल बनाउनेछु’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०७५  

 

बाँसगढी नगर र उद्योग व्यापारीहरुको हकहितका लागि कस्ता योजना बनाउनु भएको छ ?

बाँसगढी बजारमा अहिले जुन धुलोले तहसनहस बनाइसकेको छ । स्थानीय सरकारलाई भनेर यो बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ, धुलो रहित बजार कसरी बनाउन सकिन्छ भन्ने मेरो प्रमुख अजेण्डा हुनेछन् । त्यसपछि अहिले बाँसगढी उद्योग वाणिज्य संघ भर्खरै जन्मेको संस्था हो । अहिले हामीले एउटा कोठामा कार्यालय सञ्चालन गरेका छौँ । मैले जितेपछि आफ्नो ३ वर्षे कार्यकालमा सुविधा सम्पन्न भवन र सुविधा सम्पन्न सभाहल बनाएर आफ्नै भवनमा कार्यालय स्थापन गर्ने सोच छ । बाँसगढीका उद्योग व्यवसायीहरुको व्यापार व्यवसाय एकदमै धरासायी बन्दै गइरहेको छ । अहिले घुमन्ते व्यापारीहरुले नजिकैको भन्सारबाट भन्सार छलि अवैध सरसमान ल्याएर बेचिरहेका छन् । ती व्यापारीहरुलाई पनि नियन्त्रण गर्ने छु । अहिले बाँसगढी बजारमा आएका ग्राहकहरुको लागि शौचालयको सुविधा छैन । त्यसको लागि बाँसगढीमा आवश्यकताअनुसार नगरपालिकासँग समन्वय गरेर घुम्ती शौचालय भए पनि बनाउन पहल गर्ने छु । साथै बाँसगढीमा वाणिज्य बैंक धेरै भए पनि सरकारीस्तरका बैंकहरु नभएकाले बाँसगढीमा पनि सरकारी बैंक ल्याउन सक्दो पहल गर्नेछु । हाम्रो बाँसगढी उद्योग वाणिज्यसँग अहिले प्रदेश महासंघमा मात्रै दर्ता छ । यदि म अध्यक्ष बने छु भने उद्योग वाणिज्य महासंघमा पनि दर्ता गराउन पहल गर्नेछु । साथै बाँसगढीका जति उद्योगी व्यवसाय छन्, जुन घर बाहल कर र स्थानीय कर गरी दोहोर करको मर्कामा छन्, त्यसमा पनि म पहल गर्ने छु । अहिले स्थानीय सरकारले साउन १ गतेबाट व्यवसाय कर लगाउने योजना बनाई रहेको छ । त्यसमा पनि ५० प्रतिशत कर उद्योग व्यवासायले लिने र ५० प्रतिशत सरकारले लिनुपर्छ भन्ने कुरामा पहल गर्ने छु । जसले उद्योगी व्यापारीहरुको छाता संगठनको आयस्रोत बढ्ने र स्थानीय सरकार र व्यापारीको पनि सम्बन्ध प्रगाढ हुनेछ ।

साना व्यवसायीहरुको समस्या धेरै छ, यसको लागि तपार्इंले कस्तो पहल गर्नुहुन्छ ?

साना व्यापारीहरुको नेपाल अधिराज्यभरी समस्या देखिएको छ । तर पनि बाँसगढी नगरपालिकाभित्रका व्यापारीहरुको लागि पनि हामी पहल गर्छौं । अहिले बाँसगढी नगरपालिकाले एउटा कृषिको लागि सेट निर्माण गरेको छ, जसमा तरकारी र मासु व्यवसायहरुको व्यवस्था त्यहाँ हुन्छ । त्यसपछि ठेला व्यवासायहरुको लागि सीमित समय अवधि तोकेर एक ठाउँ बस्न नपाउने गरी घुमाएर बच्न पाउने व्यवस्था गर्नुपर्छ । साना व्यवसायहरुलाई पनि करको दायरामा ल्याएर राज्य र उद्योग व्यापारसँग प्रत्येक सम्बन्ध जोडेर व्यापार व्यवसायमा टेवा पु¥याउन सकिन्छ ।

संघको भवन निर्माणको योजना पहिले देखिको हो तर, तपाई अध्यक्ष बनेपछि कसरी भवन बनाउने योजना बनाउनु भएको छ ?

अवश्य नै भवन बनाउन रुपैयाँ पैसा लाग्ने नै हो । दुईपटक उद्योग वाणिज्य संघ बाँसगढीले सञ्चालन गरेको महोत्सवबाट केही रकम संकलन भइसकेको छ । योजना पहिला ल्याउनु प¥यो योजना बनाएपछि काम गर्न गाह्रो छैन । अहिले हामीसँग पनि स्थानीय सरकार छ, त्यसपछि तमाम किसिमका ठूलाठूला उद्योगी व्यापारीहरु पनि छन् । तिनीहरुसँग पनि सहयोग लिन सकियो, विदेशी संघ संस्थाबाट पनि भवन निर्माणको लागि पहल गर्न सकियो । त्यसपछि महोत्सव, कुनै सोको आयोजना गरी पनि रकम संकलन गर्न सकिन्छ । साउन १ गतेबाट सरकारले व्यवसाय कर लागु गरेपछि पनि त्यसबाट पनि रकम
संकलन हुन्छ । इच्छाशक्ति हुनु प¥यो । इच्छा शक्ति भएपछि भवन अवश्य बनाउन सकिन्छ ।

उद्योग व्यापारीहरुलाई सचेत, सजक र जिम्मेवार बनाउनलाई तपाईंको योजना के छ ?

बाँसगढी वाणिज्य संघ भर्खरै बनेको संस्था हो । धेरै उद्योगी व्यवसायीलाई उद्योग वाणिज्य संघ के हो भन्ने बारेमा पनि बुझाउन जरुरी छ । अब उद्योगी व्यवसायलाई किन छाता संगठन चाहियो त भन्ने बारेमा पनि बुझाउन जरुरी छ । उद्योग वाणिज्य संघ भनेको उद्योग व्यापारीहरुको हकहितको लागि बोल्ने एउटा छाता संगठन हो । सरकारले उठाउने कर, हाम्रो क्षेत्रको विकास र व्यापारीहरुको हकहितको लागि पनि वाणिज्य संघ चाहिएको हो भन्ने कुरा सबैलाई बुझाउन जरुरी छ । यसको लागि स्थानीय सरकारसँग मिलेर विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ ।

अन्त्यमा आममतदाता उद्योगी व्यापारीलाई के भन्नुहुन्छ ?

अन्त्यमा, बाँसगढी क्षेत्रमा जति उद्योगी व्यवसायहरु हुनुहुन्छ । सबैलाई नयाँ वर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामनासहित हरेक व्यापारीहरुको लागि यो वर्ष शुभ होस्, सफल होस् भन्न चाहन्छु । यही बैशाख ४ गते हुने बाँसगढी उद्योग वाणिज्य संघको निर्वाचनमा मलाई अत्यधिक बहुमतले विजय गराउनुस् म आग्रह र अनुरोध गर्न चाहान्छु । म तपाईंहरुको मतको खेर जाने अवस्था सिर्जना हुन दिने छैन । म अध्यक्षमा निर्वाचित भए यस बाँसगढी क्षेत्रको विकास समृद्धि र सुन्दर नगरपालिका बनाउने दिशातर्फ सधैँ सकारात्मक सोचका साथ लागिरहने छु । उद्योगी, व्यवसायी र व्यापारीहरुको हकहितको लागि सधैँ प्रयत्नशील भई लाग्ने प्रतिबद्धता समेत जनाउन चाहान्छु ।

 

प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०७५     7:58:11 AM  |