यमुना खनाल, सिराहा/ सिराहामा पहिलो पुस्ताका महिलाहरूले अहिले पनि श्रीमानको नाम लिदैनन् । त्यसो त दोस्रो पुस्ताका पनि सबै महिलाले श्रीमानको नाम लिदैनन् । नाम लिए, पाप लाग्छ भन्ने उनीहरूको विश्वास छ । श्रीमानको नाम लिनुहुदैन भन्ने आफ्ना आमा, सासुको अर्तीलाई शिरोधार्य गरिरहेका छन्, उनीहरू । सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ मा केही समय अघि खुल्ला दिसा मुक्त अभियानको अनुगमनका क्रममा पुग्दा घरबाहिर सडक छेउमा बसिरहेका अलि पाको उमेरका महिलाहरू गाउँ बाहिरबाट त्यहाँ पुगेका मान्छेलाई हेरिरहेका थिए ।
५० वर्षीया अमृति यादव घरधन्दा गर्दै थिईन् । घरमा चर्पी छ भनेर सोधिएको प्रश्नमा उनले ‘छ’ भनिन् । चर्पी भएका घरधुरीको डाटा राख्न घरमुलीको नाम सोध्दा उनले नाम बताईनन् । उनले भनिन्, ‘केनाके कहबै (कसरी भनौं) घरवालाके नाम केनाके लेबै (श्रीमानको नाम कसरी भन्नु) ।’ श्रीमानको नाम भन्दा के हुन्छ र भन्दा उनले ‘पाप लाग्छ । भन्नु हुदैन । पहिलादेखि श्रीमान्को नाम लिनु हुदैन भन्ने सुनेको । त्यसैले भन्ने गरेको छैन’ उनले जवाफ दिईन् ।
त्यही टोलकी ४५ वर्षीया चन्द्रवती र १८ वर्षकी अर्की विवाहित महिला पनि घरमै थिए । घरमा शौचालय छ छैन भनि सोध्दा अलि पाको जस्तो देखिने महिलाले हातको इसाराले ‘उ त्यो’ भनेर देखाइन् । श्रीमानको नाम सोधेपछि भने उनी हाँसिन् मात्रै । र मुख छोपिन् । उनको पनि त्यही जवाफ आयो ‘कसरी लिने श्रीमानको नाम (केनाके कहबै घरवालाके नाम) ?’ आफ्ना श्रीमानको नाम बताइदिन उनले अरु केटाकेटीलाई बोलाईन् । उनका नातिनातिले नाम भने । आफूले श्रीमानको नाम कहिल्यै नलिएको उनले बताईन् ।
‘नाम चाहिएको खण्डमा भनिदिने मान्छे घरमा अरु छदैछन् । किन नाम लिनु पर्यो र’ उनले भनिन् । घरका मान्छे कोही नभएको बेलामा भने छिमेकीले भनिदिने गरेको उनले बताईन् । कहिलेकाहीँ यस्तै अप्ठ्यारो पर्छ । कुनै सरकारी कामकाजका लागि जाँदा पनि श्रीमान्को नाम भन्नुपर्छ । त्यतिबेला पनि अप्ठ्यारो पर्छ । तर पनि साथमा भएका अरुले भनिदिने गरेको उनले बताईन् ।
उनीहरू मात्र होईन फुलकाकटीमा पहिलो र दोस्रो पुस्ताका अधिकांश महिलाहरूले श्रीमानको नाम भनेका वा बोलाएका छैनन् । त्यही टोलकी गुलाबदबी महतो, सरस्वती महतो र अरुलियादेबी यादबले पनि हालसम्म श्रीमानको नाम नलिएको बताए । श्रीमतीले श्रीमानको नाम नभन्ने परम्परालाई आफूहरूले पनि आत्मसात गरेको उनीहरूले बताए ।
तेस्रो पुस्ताले मान्दैनन्
तेस्रो पुस्ताका महिलाहरू चाहिँ यो कुरा मान्न तयार छैनन् । उनीहरू सहज रुपमा नै श्रीमानको नाम लिन्छन् । यद्यपि दोस्रो पुस्ताका सबै महिलाहरूले भने श्रीमानको नाम लिदैनन् । यो अवस्थाको अवशेष दोस्रो पुस्तासम्म मात्रै छ भन्दा फरक पर्दैन ।
धनगढीमाई नगरपालिका वडा नम्बर ५ की तत्रीदेबी यादब र उनकी बुहारी किरण यादब सँगै काम गरिहेका थिए । तपाईलाई पनि श्रीमानको नाम भन्नै हुदैन भन्ने लाग्छ ? भनि सोध्दा १९ वर्षीया बुहारी किरणले भनिन्, ‘पुराना मान्छेले श्रीमानको नाम भन्नु हुदैन भन्छन् । तर हामी मान्दैनौ ।’ नाम भन्दा कुनै समस्या पनि नहुने भएकाले आफ्नै सहजताको लागि नाम भन्ने गरेको उनले बताइन् ।
किरणकै छिमेकी शुनिता महतो पनि पुराना मान्छेले यसलाई माने पनि आफूहरूले नमान्ने बताइन् । ‘मेरो श्रीमान बिन्देश्वर विदेशमा हुनुहुन्छ’ उनले नामै लिएर भनिन् । आफूहरूले श्रीमानको नाम लिदा त्यस्तो पाप पनि नलागेको उनले अनुभव सुनाईन् । महतोले भनिन् ‘हामीलाई श्रीमान्को नाम लिदा केही हुदैन भनेर थाहा छ । त्यसैले नाम लिन्छौ’ उनले भनिन् ।
श्रीमानहरू सधै घरमा बस्दैनन् । श्रीमानको नाम नलिएर सम्भव पनि नहुने उनीहरूले सुनाए । अहिले पढे लेखेकाले नामैले सम्बोधन गरेर श्रीमान्लाई बोलाउँछन् । ‘हामीले काम पर्दा किन नाम नलिने’ उनले भनिन् ।
अनुगमन टोलीका रहेकी सिराहाको धनगडीमाई नगरपालिकाकी उपमेयर फुलकुमारी श्रेष्ठ तामाङ्ले ‘म पनि तपाईंहरू जस्तै महिला हो । म त मेरो श्रीमानको नाम लिन्छु । नाम भन्दा केही फरक पर्दैन । श्रीमान–श्रीमती एक सिक्काका दुई पाटा हुन् । श्रीमानले श्रीमतीको नाम भन्न हुने । श्रीमतीले भन्दा चाहिँ के हुन्छ र ?’ भन्दै महिलाहरूलाई श्रीमानको नाम भन्दैमा केही फरक नपर्ने अनुभव सुनाइन् । उपमेयर फुलकुमारीले यसो भनिरहँदा गाउँका महिलाहरू भने हाँसिरहे । केही बोलेनन् ।
उपमेयर श्रेष्ठले पछिल्लो पुस्तामा परिवर्तन आएकोमा आशा गर्ने ठाउँ रहेको बताईन् । र पहिलो पुस्ताका महिलाहरूलाई पनि साना साना समूहमा आबद्ध गराउने र ती समूह मार्फत जनचेतनाको विकासको लागि काम गर्ने योजना रहेको बताईन् ।
सिराहाको गोलबजार नगरपालिकाका ७८ वर्षीय मेयर देवनाथ साह पुरानो अन्ध विश्वासले जरा गाडेकाले तराईमा महिला पछि परेको बताउँछन् । घुम्टो प्रथा र श्रीमानको नामै नलिने जस्ता कुरा कुनै धर्म शास्त्रमा लेखिएको छैन । शिरमा आँचल राख्ने मिथिलाको संस्कृति हो । तर मुखै ढाक्नुपर्छ भन्ने होईन । अब यस्ता कुरामा अल्झने भन्दा सरकारले महिलाहरूलाई धेरै खाले अधिकार उपभोग गर्नेतर्फ लाग्नुपर्ने साहको भनाइ छ ।
महिलालाई म दोस्रो दर्जाको नागरिक हुँ भन्ने हिनताबोध पाल्न बाध्य पार्ने खालका परम्पराहरू तोड्नका लागि महिला आफैले परिवर्तनलाई आत्मसात गर्नुपर्ने कुरामा उनले जोड दिए ।









प्रतिक्रिया दिनुहोस्