26 September 2021  |   आइतवार, अशोज १०, २०७८

बर्दियाको लालपुर क्षेत्रमा कर्फ्यु आदेश जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४  

बर्दियाको गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार बिहानैदेखि स्थानीय दुईपक्षबीच भएको झडपलाई नियन्त्रणमा  लिन अहिले बिहान १० बजेदेखि स्थानीय प्रशासनले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो ।

 डिएसपी युवराज खड्काले भने, ‘हिजोको विषयलाई लिएर आज बिहानैदेखि दुईपक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा ल्याउनको लागि अर्को सूचना जारी नगरेसम्म कर्फ्यु लगाइएको छ ।’

बर्दियाको गुलरिया नगरपालिका-११ मा आइतबार दिउँसो दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडप भएको थियो । आइतबारको विषयलाई लिएर सोमबार बिहानैदेखि दुवै समूहले प्रदर्शन गरेका थिए ।

सोमबार बिहानदेखि स्थिति तनावग्रस्त भएपछि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर समेत गरेको थियो । डिएसपी खड्काका अनुसार अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले गुलरिया–नेपालगञ्ज सडकखण्ड बन्द छ ।

प्रकाशित मितिः सोमवार, अशोज १६, २०७४     2:59:54 PM  |