23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

माक्र्सवादको स्थानीयकरण सृजनशीलता हो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४  

“माक्र्सवादको विचार, विश्लेषण र विकासको कुरा उठाउँनेहरुलाई बरु सजिलै दक्षिणपन्थी संशोधनवादी भनिदिने परम्परा नै बस्दै आएको छ ।″

— भीम रावत,   

विचार


उन्नाइसौं शताब्दीमा विकसीत हुँदै गरेको माक्र्सवाद वीसौं शताब्दीमा पुग्दा त्यो शताब्दीकै वैज्ञानिक विचार बन्यो । तर विज्ञानको नियम के हो भने एक पटक कुनै सिद्धान्त वा विचार सर्वमान्य भएपछि त्यो सधैका लागि त्यही रुपमा स्थीर भई सर्वमान्य भइरहन सक्दैन । बरु मानवीय चेतनाको नयाँ उचाइँमा पुगेर विकसीत हुन्छ , परिमार्जीत हुन्छ र नयाँ विचार र सिद्धान्तको अस्तित्व खोज्छ । विज्ञानको राजमार्गमा सधै यस्तो भइरहन्छ । जस्ले गर्दा पुराना विचार र सिद्धान्तहरु परिमार्जीत हुन्छन्, फेरिन्छन् ,युगको चेतना र आवश्यकता अनुसार नयाँ बन्दछन् । पुरानोको अस्तित्व विस्थापीत गर्दै नयाँ अस्तित्वको खोजी शुरु गर्छन् । यसो नहुँदो हो त यो संसार गतिशील हुने नै थिएन । स्थीर भएर बसिरहने थियो होला ।
तर परम्परागत माक्र्सवादीहरु यस्तो विचार राख्नेहरुलाई दक्षिणपन्थी संशोधनवादी तथा गैर माक्र्सवादी भन्ने आरोप लगाउँछन् । उन्नाइसौं शताब्दीमा विकसीत हुँदै प्रयोगमा आएको माक्र्सवादी विचारले एक समयमा संसार हल्लायो, विचार र विज्ञानको क्षेत्रमा । यसलाई युगको चेतना र आवश्यकता अनुसार विकसीत गर्ने भन्दा पनि यसलाई समातेर, जपेर बस्ने परम्परा संसार भरीकै माक्र्सवादीहरुमा प्रायः रह्यो । समय, चेतना र युगको आवश्यकता अनुसार माक्र्सवादलाई सृजनशील, विकसीत र परिमार्जीत गर्न नसक्दा संसारका कम्युनिष्ट सत्ताहरु एक पछि अर्को गर्दै धरासायी हुँदै गए । अहिले पनि परम्परागत माक्र्सवादीहरु राज्य सत्तामा ‘वर्ग’ र ‘वर्गीय अस्तित्व’ बाहेक अरु केही देख्दैनन् ।
स्पेनका दार्शनिक गैसेटका अनुसार, ‘समकालिन युगको सबै भन्दा महत्वपूर्ण कुरा जनसमुदायको उदय हो’ । यो परम्परागत माक्र्सवादीहरुको प्रस्ताव भन्दा अलगधार हो अर्थात ठीक विपरीत धार हो । गैसेटको यो भनाईको अर्थ ‘जनसमुदाय’ आफै समाज सञ्चालनको महत्वपूर्ण अस्तित्व भएकाले यो समाजमा रहेका ‘वर्ग’ भन्दा माथि हुन्छ र शक्तिशाली पनि हुन्छ । त्यसैले जनसमुदायको अस्तित्वले ‘वर्ग’ को अस्तित्वलाई विस्थापीत गरिदिन्छ किनभने ‘वर्ग’ भन्ने वित्तिकै समाजका ‘खास केही मानिसहरु’ भन्ने बुझाउँदछ भने ‘जनसमुदाय’ भन्ने वित्तिकै समाजका सबै तहका आम मानिसहरुको प्रतिनिधित्व गर्दछ । माक्र्सवादी मान्यताले राज्य ‘वर्गीय’ हुन्छ भन्दछ र यसैमा विश्वास राख्दछ । तर आजका मान्यता भनेको राज्य कुनै निश्चित वर्गको मात्र हुनु हुँदैन । राज्य भनेको त्यस राज्यमा बस्ने सबै जनसमुदायको लागि उत्तिकै अर्थ र महत्वको हुनु पर्दछ भन्ने हो । यसलाई कतिपयले नवमाक्र्सवादी विचार भन्ने अर्थमा बुझ्दछन् र विश्लेषण गर्दछन् भने परम्परागत माक्र्सवादीहरु यस्तो विचारलाई संशोधनवादी भन्ने आरोप लगाउँछन् । एक्काइसौं शताब्दीको मानव चेतनाको स्तरमा राज्य कुनै निश्चित वर्गको मात्र हुनु वैज्ञानिक तर्क हुन सक्दैन । किनभने आज सबै जनसमुदायले राज्य माथि समान सहभागीता र समान अस्तित्व चाहन्छन् । परम्परागत माक्र्सवादले ‘जनसमुदाय’को अस्तित्वलाई इन्कार गर्ने र ‘वर्गीय’ अस्तित्वलाई मात्र स्वीकार गर्ने कारणले नै माक्र्सवादी र नवमाक्र्सवादीहरुको बीचको भिन्नता शुरु हुन्छ । परम्परागत माक्र्सवादले ‘वर्ग’ लाई महत्व दिन्छ भने नयाँ माक्र्सवादले ‘जनसमुदाय’लाई महत्व दिन्छ ।
खास गरी नेपालमा माक्र्सवादको नयाँ व्याख्या वा नवमाक्र्सवादी विचारको चिन्तन, वहस र छलफल गरिदैन । माक्र्सवादको विचार, विश्लेषण र विकासको कुरा उठाउँनेहरुलाई बरु सजिलै दक्षिणपन्थी संशोधनवादी भनिदिने परम्परा नै बस्दै आएको छ । परम्परागत माक्र्सवादका कट्टर हिमायतीहरु नवमाक्र्सवादी दृष्टिकोण प्रति सकारात्मक देखिदैनन् । बरु उनीहरु आफ्नो जड्तामा समाजवादको भविश्य देख्छन् । नयाँ माक्र्सवादी मान्यताले समाजवाद निर्माणको नाममा वा वर्गीय अस्तित्वको नाममा हुने सर्वहारा अधिनायकत्व वा दमनलाई अस्वीकार गर्दछ । यो दृष्टिकोणले नोकरशाही समाजवाद र नोकरशाही पूँजीवाद दुवै जनसमुदायका लागि उत्तिकै खतरनाक हुन भन्ने मान्यतामा विश्वास राख्दछ । नयाँ माक्र्सवादी दृष्टिकोणको मान्यता हो ‘सबै प्रकारका शोषणको विरोध’ । यो दृष्टिकोण अनुसार, ‘समाजवादका नाममा सर्वहारा वर्गको अधिनायकत्व होस् वा पूँजीवादका नाममा सर्वहारा वर्ग माथि नियोजीत रुपमा निरन्तर भइरहने शोषण र दमन होस् ,यी सबै अस्वीकार्य छन् । पूँजीवादका नाममा जे गरे पनि हुन्छ भन्ने ‘अति पूँजीवाद’ र समाजवादका नाममा सर्वहारा वर्गले जे गरे पनि हुन्छ भन्ने ‘अति सर्वहारापन’ यी दुवै आजको आम जनसमुदायका निम्ति स्वीकार्य हुन सक्दैनन् । यही दृष्टिकोण नै नयाँ माक्र्सवादी दृष्टिकोण हो । हामीले इतिहासमा पढ्यौं, देख्यौं र भोग्यौं कि परम्परागत माक्र्सवादीहरु सर्वहारा जीवनलाई महत्वपूर्ण मान्छन् ।
(यद्यपी नेपालमा यो विचारका प्रतिनिधि नेताहरुहरुको जीवनशैली कसैको पनि सर्वहारा छैन र देखिदैन) । तर नवमाक्र्सवादीहरु हरेक जीवनलाई महत्वपूर्ण मान्दछन् । मानिसको लागि जीवन भन्दा माथि न राज्य हुन्छ न वर्ग हुन्छ न त सम्पत्ति नै । मानिस समाजमा बसेपछि नभइ नहुने समाजको सृजनशीलता, प्रेम, ज्ञान, वन्धुत्व, एकता, आनन्द र उसको निजत्वको महत्वलाई परम्परागत माक्र्सवादले कहिल्यै प्राथमिकतामा राख्न सकेन । जसका कारण संसारका समाजवादी सत्ताहरु एक पछि अर्को धरासायी हुँदै गए किनभने माक्र्सवादले ‘वर्ग’ मात्र देख्यो र ‘वर्गीय अस्तित्व’ को रक्षाको निम्ति सर्वहारा अधिनायकत्व लागु ग¥यो । उसले मान्छेको अस्तित्व र सार्वभौमिकतालाई कहिल्यै स्वीकार गरेन । व्यक्तिको निजत्वलाई कहिल्यै प्रस्फुटन हुन दिएन । त्यसो भएर नवमाक्र्सवादी दृष्टिकोणले मान्छेको सार्वभौमिकतालाई स्वीकार गर्दछ र उसको निजत्वको रक्षा गर्दछ ।
जुन बेला माक्र्सले माक्र्सवादको अवधारणा र दृष्टिकोण अगाडि सारे त्यस बेला ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादको दृष्टिकोणबाट समाजको व्याख्या गरे । माक्र्सले व्याख्या गर्दाको समाज र त्यसको वर्ग चरित्रको रुप जस्तो देखे त्यही अनुसार विचार निर्माण गरे । त्यस बेला माक्र्सले दरिद्र सर्वहारा वर्ग देखे र उनीहरुको मुक्ति नै माक्र्सको नजरमा महत्वपूर्ण थियो । त्यसैले उनले राज्य सत्तामा सर्वहारा वर्गको पहुँचको आवश्यकतामा विशेष महत्व दिए । कालान्तरममा त्यही दृष्टिकोण नै सर्वहाराको अधिनायकत्वको रुपमा उदायो । त्यसले राज्य सत्तामा सर्वहारा वर्ग बाहेक अरु कसैको अस्तित्व स्वीकार गरेन । आज पूँजीवादी युगमा पूँजीवादी र औद्यौगिक पूँजीवादी देशहरुमा मजदुर दरिद्रता र भोकको समस्या छैन । त्यहाँ आर्थिक रुपमा निरासा पनि छैन । त्यसैले त्यस्ता देशहरुमा आज मानिसहरुलाई खाना लाउना भन्दा पनि उसलाई निजी स्वतन्त्रता महत्वपूर्ण बन्न गएको छ ।
जति बेला मानिस आदर्शमा मात्र विश्वास गर्दथ्ये त्यति बेला हेगेलको द्वन्द्ववाद आदर्शवाद थियो । पछि माक्र्सले हेगेलको द्वन्द्ववादलाई टाउकोले टेकेको भन्दै थप व्याख्या गरे र माक्र्सले टाउकोले टेकेको हेगेलको द्वन्द्ववादलाई खुट्टाले टेकाएर उभ्याए । अर्थात आदर्शवादी सारको द्वन्द्ववादलाई भौतिक सार दिए र द्वन्द्वात्मक भौतिकवाद बनाए । त्यसैले माक्र्सको द्वन्द्ववाद भौतिकवाद हो । माक्र्सले उनको द्वन्द्ववादी दृष्टिकोण बाट हेर्दा ‘वर्ग’ हरु बीचको द्वन्द्व मात्र देखे र त्यसैको चर्चा गरे । तर माक्र्सले त्यो बेला ध्यान दिन नसकेको पक्ष के हो भने द्वन्द्व विपरीत वर्गहरुको मात्र नभई विपरीत मनोविज्ञानहरु बीच पनि हुन्छ । मानिसहरुको मनोविज्ञानमा पनि ध्यान दिनु पर्न भन्ने हेक्का नै भएन त्यति बेला माक्र्सलाई । माक्र्सको विचारमा ‘वर्ग’ महत्वपूर्ण भयोे र व्यक्ति तथा उसको मनोविज्ञान गौण भयो । तर व्यक्तिलाई गौण मान्न सकिदैन । राज्यको जसरी रङ हुँदैन, धर्म र वर्ण हुँदैन ,त्यसरी नै राज्यको कुनै निश्चित वर्गको वर्गीय पक्षधरता पनि हुनुहुँदैन । राज्य त्यो राज्यमा बस्ने सबै जनसमुदायहरुका लागि साझा र समान हुनु पर्दछ । राज्यले मान्छेको हितलाई सर्वोपरी मान्नु पर्दछ नकि वर्गको । किनभने मान्छे वर्ग भन्दा माथि हुन्छ । आजको दुनियाँमा व्यक्तिको खुशी र आनन्द उसको निजी जीवनमा महत्वपूर्ण र निर्णायक हुन्छ । नवमाक्र्सवाद अर्थात नयाँ विचार धारामा नेपाली समाजको चरित्र, सामाजिक परिवेश, मानवीय चेतनाको स्तर तथा यहाँको भू–राजनीतिक परिस्थिति अनुसार राजनीतिक कार्यदिशा निर्माण गर्नु राजनीतिक दलहरुलाई चुनौती भए पनि अब नेपाललाई नयाँ ढङ्गले अगाडि बढाउन र आर्थिक रुपले समृद्ध गराउन त्यसो नगरी सुखै छैन । जो नयाँ ढङ्गले अगाडि वढ्न तयार र सक्षम हुँदैनन् उनीहरु इतिहास मै सिमीत रहन्छन् । भविश्य सम्म पुग्न सक्दैनन् । गतिशील समाजमा स्थीर चीज अगाडि पुग्न सक्दैन । त्यसैले नेपालका माक्र्सवादीहरुले नेपालको आजको आवश्यकता र सान्दर्भीकतामा माक्र्सवादलाई स्थानीयकरण गर्नु अर्थात विकसीत गर्नु नै नयाँ विचार निर्माणको दिशामा पुग्ने सहज विकल्प हुन सक्छ ।

प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     6:02:25 PM  |