23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

तेजकुमारीलाई संरक्षण पुरस्कार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४  

कोहलपुर, २६ जेष्ठ  / समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति (सिबिएपियू) सञ्जाल बाँकेले बैशाख महिनाको संरक्षण पुरस्कार तेजकुमारी वलीलाई प्रदान गरेको छ । कोहलपुरमा एक कार्यक्रम गर्दै सिबिएपियू राजकोटकी अध्यक्ष समेत रहेकी वलीलाई रु. ५ हजार नगद सहित पुरस्कृत गरिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले वलीलाई पुरस्कार हस्तान्तरण गरे । निकुञ्जको स्थापना कालदेखि नै संरक्षण अभियानमा अतुलनीय योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए ।
जुओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको आर्थिक सहयोगमा सिबिएपियू बाँकेले हरेक महिना जैविक विविधता संरक्षणमा सक्रिय सहभागिता भई योगदान पु¥याउने एकजनालाई पुरस्कृत गर्दै आएको छ ।
पुरस्कार फागुन महिनाबाट शुरुवात भएको हो । यसअघि फागुन महिनामा टिका खत्री र चैत्र महिनामा शान्ति चौधरीले पुरस्कार पाइसकेका छन् ।
यसैबीच सिबिएपियूमा आवद्ध ५० बढी युवाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन, सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारी, तराई भु–परिधि कार्यक्रमका कृपाल चौधरी, सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्णलाल चौधरीले सहजिकरण गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २६, २०७४     3:15:49 PM  |