20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

१०३ वर्षमा बल्ल घरकाे बास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४  

धुर्मुस र सुन्तली भगवानको अवतार बनेर मेरो घरमा आए

बर्दिबासः २ वैशाख / ‘राम्रो घर पाएँ, साह्रै खुसी लागेको छ’, दशकौं बाख्राको खोरमा बिताएकी बर्दिबास १ की १०३ वर्षीया मरनी सादाले नयाँ घरको बरन्डामा बसेर धुर्मुस-सुन्तलीसँग खुसी साट्दै भन्नुभयो, ‘पहिला बाख्रा बाँध्ने ठाउँमा सुत्थें, बाबु । पानी पर्दा छानो चुहिन्थ्यो । जाडोमा न्यानो ओछ्यान र ओढ्ने थिएन । आगो तापेर रात काट्थें । तपाईंहरूले मजस्ती बूढीका लागि जाडो र झरी छल्ने घर बनाइदिनुभयो ।’

नयाँ वर्ष २०७४ सँगै करोडौं नेपाली आपसमा सुख, समृद्धि, शान्ति, विकास र उन्नतिको शुभकामना आदानप्रदान गरिरहँदा मरनीको दुखिया जीवनले पनि अब बाँचुन्जेल खोरबाट मुक्ति पाएको छ । बाख्राको खोरमा सयभन्दा बढी वसन्त काटेकी उहाँले धुर्मुस-सुन्तलीको पहलमा निर्मित नयाँ पक्की घर पाउँदाको खुसी बखान गरी साध्य छैन ।

धुर्मुस-सुन्तलीले आफ्नै स्वामित्वको घरमा नयाँ पहिरनमा प्रवेश गराउँदाको क्षणमा बुढ्यौलीले मुजा परेको मरनीको मुहारको चमक नै बेग्लै थियो । मुहारको त्यो चमकले उहाँको मात्रै होइन, मुसहर बस्तीका पुस्तौंदेखि रोग, भोक र अशिक्षाले थलिएका ५५ मुसहर परिवारका बालदेखि वृद्धसम्मले अनुभूति गरेको साझा खुसीको प्रतिनिधित्व गरेको थियो । पिछडिएको मुसहर समुदायका लागि धुर्मुस-सुन्तली फाउन्डेसनले एकीकृत नमुना मुसहर बस्तीको नाम दिएर एउटै डिजाइन, रंग र उस्तै जस्तापाताले छाएका घर निर्माण गरेपछि बस्तीका सबै दंगदास छन् ।

मरनीलाई गाउँलेले साइकलमा ल्याएर नयाँ घरमा गृह प्रवेश गराए । उखरमाउलो गर्मीको रापलाई उहाँले आफ्नो घरको खाटमा सुम्सुम्याउन आइपुगेको चिसो बताससँगै मनभरी खुसी र आनन्द भर्दै लखेटेको अनुभूति गर्नुभयो । उहाँ नयाँ घरमा सर्दा गाउँमा मेला नै लाग्यो । पक्की घरमा बसेर उहाँले घरको भुइँ, छानो र भित्ता नियाल्नु भयो र छानाबाट पानी नचुहिने अनुभव गरी गहभरि हर्षको आँसु छचल्कियो । रंगिन जस्तापाता टल्के झैं मरनीको जीवनसँगै मुसहर बस्तीका दुई सय ७० जनाको जीवन उज्यालिएको देखिपछि उहाँले भन्नुभयो, ‘मैले जे दुःख भोगें भोगें । अब गाउँका छोरा, बुहारी, नातिनातिनाले दुःख भोग्नु पर्दैन । मसँगै उनीहरू पनि सुखको जीवन बिताउँछन् ।’

२०७२ पौस १३ गते बाख्राको खोरमा न्यानो बासस्थान र लुगाको अभावमा शीत लहरले थरथर काँपिरहेका बेला धुर्मुस—सुन्तलीले मरनीलाई देख्नुभएको थियो । मरनीको दर्दनाक अवस्था देखेर धुर्मुस-सुन्तली भावुक बन्नुभएको थियो । धुर्मुसले मरनीसँग त्यतिखेर कुरा गर्दा मरनीले भन्नुभएको थियो, ‘बाबु, बूढी आमाका लागि कोही पनि छैन ।’ यति भरेर मरनी रबरबर आँसु झार्दै रुनुभएको थियो । मरनी रोएपछि सुन्तलीले भन्नुभएको थियो, ‘आमा म छु, हजुरलाई हामी सहयोग गर्छौं ।’

‘यी आमाका लागि केही गर्न पाए हुन्थ्यो’ भन्दै मनमा गहिरो मानवताको भाव र आँखाभरि आँसु बोकेर धुर्मुस-सुन्तली बस्तीबाट बाहिरिनुभएको थियो । लामो प्रयासपछि मरनीलाई खोरबाट निकालेर राम्रो घरमा राखिरहाँदा उहाँका आँखाबाट हर्षका आँसु खसेका थिए । मरनी हर्षविभोर हुनुभयो । चाउरी परेको अनुहारमा निकै खुसी देखिन्थ्यो । घर बनाइ दिएकोमा मरनीले धुर्मुस-सुन्तलीलाई केही दिन सक्नुभएन । तर, उहाँले आफ्नो दुःखमय जीवन सुखी बनाइदिएकोमा धुर्मुस- सुन्तलीलाई ‘भगवान्’ को अवतरको संज्ञा दिनुभयो ।

‘धुर्मुस र सुन्तली भगवान्को अवतार बनेर मेरो घरमा आए’, मरनीले भन्नुभयो, ‘म उनीहरूलाई भगवान् भन्छु ।’ धुर्मुसतिर हर्दै मरनीले भन्नुभयो, ‘बाबु तपाईंहरूको सधैं जय होस् । हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नटुटोस् ।’ मरनीको आँखामा हर्षका आँसु आएको देखेपछि धुर्मुस-सुन्तलीले बस्ती बनाउन सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिनुभयो ।

दुई छोरा र चार छोरीकी आमा मरनीले आफू बसेको घर देखाउँदै भन्नुभयो, ‘छोरा, बुहारी, नातिहरू अब कमाएर ल्याएको सुखसँग खाएर बस्छन् ।’ ‘जेठो छोराको विवाह गरेपछि श्रीमान् बित्नुभयो । छोराछोरी सानै थिए । घरमा कमाउने कोही थिएनन् । बिजलपुरा, बनरा, हात्तीलेट, माईस्थानका गाउँ घुमेर अलुवा (माटोमुनि फल्ने एक प्रकार खाने वस्तु) चालेर ल्याउँथे । उसिनेर छोराछोरीलाई खुवाउँथे । अलुवा नभेटेको दिन निरास भएर घर आउँथे । छोरीछोरी खानेकुरा लिएर आमा आउँछिन् भनेर बाटो हेरे बस्थे । टाउकाको ढाक्की तल राख्दा जब खानेकुरा भेटिँदैन्थयो । तब नानीहरू रुन्थें । ती दिनमा पनि छोराछोरीलाई दुःख काटेर हुर्काएँ’, मरनीले पुराना दिन स्मरण गर्नुभयो ।

धुर्मुस र सुन्तली भगवानको अवतार बनेर मेरो घरमा आए । म उनीहरुलाई भगवान् भन्छु । दलितमा पनि मुसहर जाति महादलित मानिन्छ । रातु खोलाको मुहानमा पानी लिन जाँदा ठूला बडाले पानी भरेपछि मात्र मुसहरलाई पानी भर्न दिन्थें । ठूलाबडाले भरेको पानी मुसहरले छोए भने त्यसको बदलामा उनीहरूबाट छुवाछुतको व्यवहार सहनुपथ्र्यो । कुटाइ खानुपथ्र्यो । पानी छोएको भन्दै कति पटक ठालुले मरनीसहितका मुसहर बस्तीका गाउँलेलाई कुटेर पानी लिन गएको घैंटो फुटाइदिएको पनि सुनाउनुभयो मरनीले ।

‘हाम्रो १२ बिघा खेत थियौं । १०—१२ थान गाईभैंसी थिए । सबै साहुले हडपे’, मरनीले भन्नुभयो । मरनीको अहिले ५ घुरभन्दा जग्गा छैन । अलुवाको खेती हुन छाडेपछि बर्दिबासको हटिया मरनी र उनको छोराछोरीलाई आहारा जुटाउने माध्यम बन्यो । बुधबार र शनिबार लाग्ने हटियामा रातु खोलाबाट पानी र गाउँबाट गोबर ल्याएर लिपेर घरपरिवार चलाउनुभयो । अलिहे मरनी राम्रोसँग हिँड्न सक्नुहुन्न । लट्ठीको सहारामा घिस्रेर हिँडडुल गर्नुपर्छ । ‘बजारको एक घर लिपेको एक रुपैयाँ पाउँथे । एक दिनमा बजारमा एक सय घर लिप्थें’, उहाले भन्नुभयो ।
नयाँ घरको बरन्डामा धुर्मुस-सुन्तलीसँगै मरनी सादा ।

प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४     2:52:51 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *